नेपाली युवाले चुमे ‘अन्तराष्ट्रिय प्रोफेशनल किक बक्सिङ’ को उपाधि
  • काँचुली खबर

युवा पुस्ताका बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) ले ‘अन्तराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन । विश्वका भेट्रान बक्सरलाई मात्र खेलाईने उक्त प्रतियोगिता जित्ने हिमालयन चितुवा कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को समेत उपाधि चुमेका थिए ।

जापानको टोकियो शहरमा सम्पन्न सो अन्तराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए ।

सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए । दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका हुन् ।

नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने अविरल पहिलो ‘बक्सर’ समेत भएका छन ।

  • १३ बैशाख २०७८, सोमबार ११:५९ प्रकाशित
  • Nabintech