बाँकेको जानकी गाउँपालिकाले पनि ५० वेडको आइसोलेसन केन्द्र (कोभिड–१९ संक्रमित उपचार केन्द्र) निर्माण गर्ने भएको छ ।
गाउँपालिकाको वडा नं. ६ मा रहेको खुल्ला कारागारका लागि निर्माण गरिएका २ वटा भवनमा सो केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।
प्रशासकीय अधिकृत रानाका अनुसार आइसोलेसन केन्द्र निर्माणका लागि कार्यपालिकाको बैठकले बैशाख ४ गते निर्णय गरेको थियो । सो स्थानको अनुगमन बैशाख ११ गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज गेलालको नेतृत्वको टोलीले समेत स्थलगत अध्ययन गरी उक्त स्थानमा आइसोलेसन केन्द्र स्थापना गर्न निर्णय भएको जानकारी रानाले दिए ।
खुल्ला कारागार निर्माणधिन स्थानमा २ वटा भवन रहेको र ३६ वटा कोठा प्रयोगमा ल्याउन सकिने भएको छ । निर्माण कम्पनीलाई १३ गते सम्म आवश्यक सम्पूर्ण निर्माणका कार्य गर्न ताकेता गरिएको छ । यही १५ गते देखि कोरोना संक्रमितलाई अक्सिजन सहितको सेवा संचालनका लागि तयारी गर्न लागिएको रानाले बताए ।
गाउँपालिकाको आज बसेको बैठकले कोभिड–१९ संक्रमित उपचार केन्दमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार, स्वास्थ्य सामाग्री, सहित १० वटा अक्सिजनका सिलिण्डर खरिद गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।
१२ बैशाख २०७८, आईतवार २०:५३ प्रकाशित