राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जलाई अस्पतालमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको छ ।
शनिबार दिउँसो राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा गएको युवाहरुको एउटा टोलीले भेरी अस्पताल परिसरमै पुगेर उक्त रकम अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरेको हो ।
कोरोनाको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न थोरै भए पनि सहयोग पुराउने उद्देश्यले राष्ट्रिय युवा संघका युवाहरुबाट स्वस्फूर्त रुपमा उठेको उक्त रकम भेरी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिद गर्नका लागि युवा संघले अस्पताललाई सहयोग गरेको राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारले बताए ।
अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको थाम्न नसक्ने गरी चाँप बढेको अवस्था रहेको र लगभग सबै बिरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था भएको जानकारी गराउँदै अक्सिजनको खपत एकदम बढेको अवस्थामा अक्सिजनको कमी हुन नदिन भन्दै अक्सिजन खरिदका लागि राष्ट्रिय युवा संघले गरेको सहयोग प्रति आफू एकदम खुशी भएको र कोरोना विरुद्धको लडाइँमा अझ प्रोत्साहन मिलेको भन्दै अस्पताल बिकास समितीका अध्यक्ष प्रमोद धितालले युवा संघको टोलीलाई आभार सहित धन्यवाद व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापा, अस्पताल बिकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ, धनराम वली र नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालको उपस्थिति रहेको थियो ।
११ बैशाख २०७८, शनिबार १६:४१ प्रकाशित