१३ बैशाख २०८१, बिहीबार
जमुनाह नाकामा नेपालीहरुको थेग्नै नसकिने भिड (फोटोफिचर सहित)
  • काँचुली खबर

यतिखेर बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाह नाकामा भारतबाट नेपाल फर्कने नेपालीहरुको थेग्नै नसकिने गरी भिड बढिरहेको छ ।
भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामारीबाट बच्नका लागि नेपाल फर्कने क्रममा जमुनाह नाकामा बिहानैदेखि भिडभाड देखिने गरेको हो ।
भारतबाट नेपाल फर्कने नेपाली नागरिकहरुलाई जमुनाहमा सरल तरिकाले व्यवस्थापन गरी सम्बन्धित जिल्लासम्म पुर्‍याउने पहल गर्नका लागि प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । उनिहरुको सहज व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

नेपालगन्जमा गएराती देखि एकहप्ते ‘लकडाउन’ जारी भएपछि प्रहरीले उनिहरुलाई बस व्यवसायीहरुसङ्ग समन्वय गरी बस जमुनाह नाकासम्म पुर्‍याई उनिहरुलाई बसपार्कसम्म पुर्‍याइदिने र बसपार्कबाट आ-आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिए ।
यसरी भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या हाल दैनिक ५ देखि ६ हजारको हाराहारीमा रहेको जमुनाह प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गरीले बताए । जमुनाह नाकाबाट यसरी नेपाल प्रवेश गर्नेहरुमा अधिकांस लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु रहेको उनले जानकारी दिए ।
भारतबाट नेपाल आउने प्रत्येक नेपालीहरुलाई नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जमुनाह नाकामा व्यवस्थापन गरेको ‘हेल्थ डेस्क’मा स्वास्थ्य चेकजाँच गरेर मात्र नेपाल पठाउने गरेको हेल्थ डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।

नेपाल आउने सवै नागरिकको ज्वरो मापन गरिने, कुनै व्यक्तिमा ज्वरो देखिए तथा रुघा खोकी जस्ता लक्षण देखिएमा उनिहरुको एन्टिजिन बिधिमार्फत कोरोनाको जाँच गरिदै आएको ज्ञवालीले बताए ।
गत चैत ११ गतेदेखि संचालन भएको उक्त हेल्थ डेस्कमा बिहिबार बिहान १२ बजेसम्म २४५ जना शंकास्पद व्यक्तिहरुको एन्टिजिन मार्फत कोरोना जाँच गर्दा २९ जनामा संक्रमण देखिएको उनले जानकारी गराए । आज मात्रै बिहान १२ बजेसम्म जमुनाह हेल्थ डेस्कमा १२ जनाको एन्टिजिन गर्दा २ जनामा संक्रमण पाइएको उनले बताए ।
हेल्थ डेस्कमा संक्रमित देखिएकाहरुलाई पहिला पहिला सम्बन्धित गृह जिल्लामा सम्बन्धित व्यक्तिको आफ्नै खर्चमा एम्बुलेन्समार्फत पठाइने तथा उपचारकालागि भेरी अस्पतालमा पठाइने गरेपनि केहिदिन अघिदेखि भने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको होटल व्हाइट हाउसमा व्यवस्थापन गरेको आइसोलेसनमा पठाउन थालिएको ज्ञवालीले जानकारी दिए ।





  • ९ बैशाख २०७८, बिहीबार १३:२९ प्रकाशित
  • Nabintech