नेपालगन्ज लगायत बाँके जिल्लाभर तिव्र गतिमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नकालागि बाँके प्रशासनले गएराती १२ बजेदेखि नेपालगन्ज क्षेत्रमा एकहप्ते ‘लकडाउन’ को घोषणा गरेको छ ।
नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यु रोड, सेतु बिक चोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोकहरुका व्यवसाय पुर्ण रुपमा बन्द छन । बजारमा केही साइकल, अटोरिक्सा, मोटरसाइकल तथा पैदल यात्रुहरु भने निर्बाध रुपमा हिडिरहेको देखिन्थे । चोकचोकमा तैनाथ केही सुरक्षाकर्मीहरु (जनपद प्रहरी र सशस्त्र प्रहरी)ले कतै कतै उनिहरुलाई रोकटोक तथा सोधपुछ गरेको देखिन्थ्यो ।
बजार भित्रका मुख्य सडक र चोक भन्दा भित्र भित्रका सहायक सडकहरुमा रहेका पसलहरु भने खुलिरहेका छन त्यसैगरी मानिसहरुको ओहोरदोहोर पनि बाक्लो देखिन्छ । अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएनि त्यो पुर्ण रुपमा पालना भएको पाइँदैन ।

लकडाउनको पहिलो दिन बिहीवार बिहान बाँकेका प्रजिअ शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी वल बागेश्वरी गणका गणपति अशोक बम , राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायतका सुरक्षा प्रमुखहरुले सिमानाका जमुनाहदेखी नेपालगन्ज क्षेत्रको अनुगमन गरेका थिए ।
लामो दुरीका सवारी साधन, विमानस्थल तथा अस्पताल मेडिकलहरु खुल्लै रहेको अवस्था तथा नेपालगन्जसङ्ग जोडिएका अन्य पालिकाहरु पनि खुल्ला भएको र भारतबाट नेपाल आउने नेपाली नागरिकहरु पनि आइरहेको अवस्थामा अनुगमनका क्रममा नेपालगन्जको लकडाउन प्रभावकारीनै रहेको पाइएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।










९ बैशाख २०७८, बिहीबार १२:१४ प्रकाशित