१६ चैत्र २०८०, शुक्रबार
प्रबिधिले सिकाएको कृषि पेशा
  • काँचुली खबर

पछिल्लो समयमा बिश्व लगायत नेपालमा पनि उच्च प्रबिधिको तीब्र रुपमा बिकास हुँदै आएको छ । धेरै मान्छेहरुले प्रबिधिको प्रयोग गरिरहेका छन । प्रबिधिको बिकास सङ्गसङ्गै कसैले सकारात्मक त कसैले नकारात्मक रुपमा प्रबिधिको प्रयोग गरेको पाइन्छ ।
सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, मेसेन्जर, युट्युव लगायतका सामाजिक संजाल प्रयोग गर्ने धेरै छन ।युट्युव हेरेर त्यसबाट जानकारी प्राप्त गरी कृषि पेशा गर्दै आएका एक किसान हुन उज्वल कृषि फार्म बाँकेका संचालक कृष्ण बिक्रम जिसी ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनास्थित आफ्नो साढे तीन बिगाहा जग्गामा उनले १२ बर्ष अघिदेखि कृषि पेशा गर्दै आएका छन । उनले उक्त जमिनमा तरकारी खेती गर्दै आएका छन । एक बर्ष अघिसम्म सामान्य र परम्परागत रुपले खेती गर्दै आएका उनले अहिले प्रबिधिले बिकास गरेको सामाजिक संजाल युट्युव मार्फत जानकारी लिएर केही सिकेको र त्यही अनुसार परम्परागत खेती प्रणाली भन्दा भिन्न रुपले खेती गर्न लागेको बताए ।

‘मैले तरकारी खेती गर्न लागेको १२ बर्ष पुग्यो, अहिलेसम्म कहिँ कतै यस सम्बन्धि तालिम केही लिएको छैन, आफुले जानेको सीप र परम्परागत ढंगबाटै अहिले सम्म खेती गर्दै आइरहेको थिएँ ।’ – उनले भने ‘सामाजिक संजाल युट्युवमा हेर्दै जाँदा एक पाकिस्तानी किसानले तरकारी खेती गर्ने तरीका देखि लिएर चाहिने सम्पुर्ण जानकारीहरु भएको भिडिओ हालेको पाएँ र त्यही अनुसार मैले अहिले खेती गर्दै आएको छु ।’
अहिलेसम्म खुल्ला आकास मुनि नै आफुले सामान्य रुपमा खेती गर्दै आएको र युट्युव हेरिसकेपछी ड्याङ्ग बनाउने, पाइप मार्फत पानी लगाउने, वाकिङ टनेल बनाउने लगायतका बिधिहरु सिकेको उनले बताए । सबै कुरा युट्युव मार्फत नै जानकारी लिन सकिने रहेछ, युट्युव हेर्दै सिक्दै त्यही अनुसारको खेती गर्न अहिले सजिलो भएको उनि बताउँछन । अहिले युट्युव हेरेर धेरै ज्ञान आफुले सिकेको र केही अप्ठ्यारो परेमा पाकिस्तानी किसानसङ्ग फोन मार्फत जानकारी लिइ काम गर्दै आएको उनले बताए ।

तरकारी खेती गर्न लागेको १२ बर्ष पुगेपनि नियमानुसार कृषि फार्म दर्ता गरेर संचालन गरेको ४ बर्ष पुगेको उनले बताए । आफुलाई यो पेशाबाट आत्मसन्तुष्टि मिलेको उनि बताउँछन । ‘७ जनाको मेरो परिवार यहि पेशाबाट पालिएका छौं, आवश्यक खर्च पुगेक छ । कृषि पेशा नगरेको भए कि त बिदेश जानू पर्थ्यो कि भने अरुको गुलाम भएर काम गर्नु पर्थ्यो । अहिले ४/५ जना मान्छेलाई रोजगारी पनि दिएको छु, मालिक पनि भएको छु । एकदम आत्मसन्तुष्टि मिलेको छ ‘ उनले भने ।
उनले सिजन अनुसार टमाटर, करेला, बोडी, बन्दा, फुलगोभी, काँक्रो, भिन्टी, भान्टा, लौका, खुर्सानी लगायतका तरकारी उत्पादन गर्दै आएका छन ।
प्रबिधिको सकारात्मक प्रयोगबाट धेरै कुराहरु सिक्न सकिने, जान्न सकिने र त्यही अनुसार आफुले प्रयोगमा ल्याई व्यवसाय पनि गरी आम्दानी समेत गर्न सकिने यो गतिलो उदाहरण हुन सक्छ ।

  • ७ बैशाख २०७८, मंगलवार १७:०६ प्रकाशित
  • Nabintech