आज चैते दसैं
  • काँचुली खबर

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज हिन्दु नेपालीहरुले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् ।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ । बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
चैते दसैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
अघिल्लो वर्षको चैते दसैं पर्व कोरोना महामारीका कारण प्रभावित भएको थियो भने यस बर्षको चैते दशैं पनि कोरोनाको दोस्रो लहरका कारण प्रभावित बनेको छ । कोरोना प्रभाव नभएका अघिल्ला बर्षहरुमा चैते दशैंका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गथ्र्यो । तर यस वर्ष कोरोना संक्रमण जोखिमका कारण त्यस्तो अवस्था छैन ।
सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ । मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्‍चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए । ‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्‍ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्‍न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ,’ उनले भने ।
बडादसैं जस्तै चैते दसैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्‍गति प्राप्तीका लागि आशीर्वाद लिनका लागि हो । बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दसैंका अवसरमा विशेष पूजा हुन्छ ।

  • ७ बैशाख २०७८, मंगलवार ०७:२७ प्रकाशित
  • Nabintech