१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन
  • काँचुली खबर

बाँके जिल्लामा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, एफ गाउँका ४९ बर्षिय कृषक तिल बहादुर श्रीसमगरले एक बिगाहा जमिनमा व्यावसायिक रुपले उक्त फलको उत्पादन शुरु गरेका हुन । उनले नवीन ड्रागन कृषि फार्म दर्ता गरेर उक्त खेतीको व्यावसायिक उत्पादन शुरु गरेको बताए । पाँच कट्ठा आफ्नो निजि जमिन र पन्ध्र कट्ठा भाडाको जमिनमा उक्त खेतिको उत्पादन सुरु गरेका छन ।
उनले ड्रागन खेती गर्नकालागि कहिँ कतै तालिम नलिएको, बिदेशमा आफुले यो खेती सम्बन्धि काम गरेर सीप सिकेको आफ्नो अनुभवको आधारमा यो खेतीमा हात हालेको बताए । ‘मैले वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा साढे छ बर्ष ड्रागन फ्रुटकै खेतीको फार्ममा काम गरें, बिदेशमा यस सम्बन्धि सम्पुर्ण जानकारी प्राप्त गरें र तीन बर्ष अघि नेपाल आएर आफ्नै गाउँमा ट्रायलका रुपमा खेती सुरु गरें । एक बर्ष अघिदेखि व्यावसायिक रुपले यसको उत्पादन सुरु गरेको छु ।’ – उनले बताए ।
सिमेन्टद्वारा निर्मित चारपाटे पोलमा ड्रागन फ्रुटको बिरुवा लगाई फल उत्पादन गर्न सकिने उनले बताए । उनले एक पोलमा चारतिरबाट चारवटा बिरुवा रोपेर एउटै पोलमा फल फलाउन सकिने बताए । तीन बर्ष पहिला मलेसियाबाट फर्किदा एउटा बिरुवा ल्याएर एउटा पोलबाट सुरु गरेको ड्रागन खेतीको उत्पादन अहिले उनको फार्ममा ५ सय पोलमा दुई हजार बिरुवा लगाई खेती गरेका छन । ‘तीन बर्ष पहिला मलेसियाबाट बिदामा घर फर्किदा एउटा बिरुवा ल्याएर टेष्ट गरेको थिएँ, हाल मेरो फार्ममा ५ सय पोलमा दुई हजार ड्रागनको बिरुवा लगाएको छु, एक हजार पोलमा दुई हजार बिरुवा लगाउने योजना छ ।’ – मगरले भने ।

सिमेन्टको पोल तैयार गर्दा ५ फिट अग्लो गराउनु पर्ने, डेढ फिट भाग माटो मुनि गाड्नु पर्ने र साढे तीन फिट लामो पोल बाहिर बिरुवाको लागि आवश्यक पर्ने उनि बताउँछन । एक पोलबाट अर्को पोलको बिचको दुरी ९ बाई ११ फिट (९×११) आवश्यक पर्ने उनको भनाई छ ।
एउटा बिरुवा र एउटा पोलबाट सुरु गरिएको उक्त खेतीबाट उनले १० पोल, १ सय पोल, २ सय पोल हुँदै हाल ५ सय पोलमा उत्पादन सुरु गरेको ड्रागनको बिरुवा र फलको एक चरण बिक्रीवितरण समेत गरी आम्दानी गरिसकेका छन । १० पोलमा खेती गर्दा पहिलो बर्षमा ५० केजी फल उत्पादन गरि बिक्रीवितरण गरेको उनले बताए । ‘मैले दुई बर्ष पहिला १० पोलमा लगाएको बिरुवाबाट गतसाल उत्पादन भएको ५० केजी फल बिक्रि गरिसकें, फुटकरमा ८ सय रुपैयाँ किलो र होलसेलमा ६ सय रुपैयाँ प्रति किलोको दरले बिक्रि गरें ।’ – उनले भने ।
यसको खेती गर्न माटोको परिक्षण गर्न नपर्ने, न्युनतम २५ डिग्री भन्दा माथिको तापक्रम चाहिने, आकासे पानी आवश्यक पर्ने र घरमै बनाएको गोबर मलको प्रयोग गर्न सकिने उनको भनाई छ । बिरुवा लगाएको करीब दुई बर्षपछि यसले उत्पादन दिने उनको भनाई छ । पहिलो बर्षमा उत्पादन हुँदैन, दोश्रो बर्षमा एक पोल (चार बिरुवा) बाट अन्दाजी ५ किलो, तेस्रो बर्षमा १० किलो, चौथो बर्षमा २० किलोको दरले उत्पादन हुने उनले बताए ।

हाल उनको फार्ममा ताइवान, फिलिपिन्स, मलेसियन तथा भियतनामका हाइब्रीड जातका विभिन्न प्रजातिका बिरुवा रहेका छन । पहिलो पटकमा मलेसियन सेतो प्रजातिको हाइब्रीडको बिरुवा लगाएका उनले अहिले भियतनाम पिंक, पिंक लगायतका बिरुवा उत्पादन गरेका छन । उनले फार्मबाट फल मात्र नभएर बिरुवा समेत उत्पादन गरी बिक्रि गर्दै आएका छन । एक फिट लामो बिरुवालाई दुई सय देखि दुई सय पचास रुपैयाँमा बिक्रि गर्दै आएको उनले बताए ।
शुरुदेखी हालसम्म करीब २० लाख लागतको लगानी गरेको उनले बताए । आफू कृषि ज्ञान केन्द्र, कृषि तालिम केन्द्र लगायतका निकायमा प्राबिधिक तथा आर्थिक सहयोग माग्न गएपनि हालसम्म कुनै सरकारी निकायबाट सहयोग प्राप्त गर्न नसकेको उनले दुखेसो पोखे ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले एकपटक उहाँ कार्यालयमा सम्पर्क गर्न आएको जानकारी दिए । ढकालले भने – ‘एकपटक उहाँ ड्रागन खेतीका बारेमा जानकारी लिन आउनु भएको थियो, यो खेती नयाँ भएका कारण हामीसँग ठ्याक्कै ड्रागन सम्बन्धि प्राबिधिक नभएपनी अन्य प्राबिधिक हुनुहुन्छ । बाँकेमा व्यावसायिक रुपले ड्रागन खेती गर्ने उहाँ नै पहिलो किसान हो । सरकारबाट हुने सहयोग हामी गर्नेछौं, उहाँ हामीसङ्ग समन्वयमा हुनुहुन्छ ।’
सम्बन्धित सरोकारवाला निकाय तथा जिल्लाका स्थानीय तहहरुले ड्रागन फ्रुटको व्यवसायिक खेतिकालागि दीर्घकालीन योजनासहित बिरुवा उत्पादन, तालिम, प्राबिधिक सहयोग, बजार व्यवस्थापन तथा आवश्यक पर्ने लगानी समेत गरेर जिल्लाका सबै कृषकहरुलाई यो खेती गर्न उत्साहित गर्ने हो भने यसको उत्पादनबाट कृषकहरुलाई आर्थिक आत्मनिर्भर बन्नमा टेवा पुग्ने देखिन्छ ।

  • ५ बैशाख २०७८, आईतवार १९:५९ प्रकाशित
  • Nabintech