शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । एक जनाको अझैं सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका-१२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी-७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।
सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।
४ बैशाख २०७८, शनिबार ०८:४१ प्रकाशित