१६ चैत्र २०८०, शुक्रबार
‘पुरानो वर्षको बिदाई’
  • काँचुली खबर

एउटा नयाँ वर्षले वर्षभरी
आफ्ना कृत्य र कुकृत्यहरु
सबै मञ्चन गरिसके पछि
अर्कोको पालो आउने गर्छ
अनि पुरानो भैसके पछि
आफै बिदा लिएर जाने गर्छ
घुमिरहने यो चक्रलाई नियालिरहेको छु
धेरै वटा नयाँ वर्षहरुलाई
यसरी नै पुरानो बनाएर पठाएको छु ।

नयाँमा केही नयाँपन होला भनेर
अहँ ! पटक्कै विश्वास लाग्दैन
त्यसको चाल ढाल कस्तो हुन्छ ?
त्यसको रुप रङ्ग कस्तो हुन्छ ?
त्यसको बानी व्यहोरा कस्तो हुन्छ ?
त्यसको कर्म र कुकर्म कस्तो हुन्छ ?
अब त त्यस्का नसा नसा सँग नै
परिचित र अभ्यस्त भइनै सकेको छु ।

जुन सत्य हुन्छ
मान्नु पर्ने पनि त्यही नै हुन्छ
नयाँ वर्षले पखेटा फिँजाएर ओगट्ने
तिन सय पैँसठ्ठी वटा दिन भित्र
भित्तामा झुण्डिने पात्रो नयाँ हुन्छ
जन्मिने मान्छेको आगमन नयाँ हुन्छ
सहयात्रा गर्न कम्मर कस्नेहरूलाई
जीवनको अनुभूति नयाँ हुन्छ
प्रविधि र विकास केही नयाँ हुन्छ ।

बाँकी रहेका अरू सबै सबै त
फुटपाथमा बेच्न राखेका पुराना कपडा
किनेर लगाउनेको लागि नयाँ भए जस्तै
भनौँ न पुरानो रक्सीको बोत्तलमा
टाँसिएको लेबुल नयाँ भए जस्तै
त्यसो भन्दा के नै पो फरक पर्ला र ?
आशा, भरोसा र आकांक्षाका
कैयौँ भ्रूणहरूको हत्या गर्दैन यस्ले भनेर
कस्ले ठोकुवा गर्न सक्ला र ?

भ्रष्टाचारीहरू भित्रकै खोजीमा रहने
ब्यभिचारीहरू छिद्रकै खोजीमा रहने
दुराचारीहरू मित्रकै खोजीमा रहने
अनि फलिफाफ भैहालेछ भने पनि
तिनकै हात हातमा र गोजी गोजीमा
आखिर रहनेछन् सबै अवसरकै खोजीमा ।

त्यसैले, न त भाग्यले डोको भरिन्छ
न सबै कर्म फलदायी हुन्छ भनेर
कुनै आँकलन र ठोकुवा गर्न सकिन्छ
‘कर्म गर फलको आशा नगर’
भगवानको अर्तीलाई आत्मसात गरी
कर्म गर्दै जाने……
आउने वर्षहरुलाई बिदा गर्दै जाने
यसरीनै धेरै वटा वर्षलाई बिदा गरेपछि
जम्मा जम्मी एउटा नयाँ वर्ष आउँछ
आफुलाई नै बिदा गर्नका लागि भनि
यही परम्पराको बिँडो थाम्दै
लौ आजदेखि बिदा गरेँ २०७७ लाई पनि ।

https://kanchulikhabar.com/news/40805

प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर

  • ३१ चैत्र २०७७, मंगलवार १८:३३ प्रकाशित
  • Nabintech