१६ चैत्र २०८०, शुक्रबार
घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित
  • काँचुली खबर

नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

नेता नेपाल र रावलले चैत १२ गते र नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए ।

बिहीबार निलम्बन गरिएको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।

पत्रमा ओलीले भनेका छन्, ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनाधिकृत र हाँस्यास्पद कार्य गरेको देखियो ।’

  • १९ चैत्र २०७७, बिहीबार १३:२३ प्रकाशित
  • Nabintech