बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि गैंडा गणना शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाबीच गैंडा गणना शुभारम्भ गरेको हो ।
बुधबारदेखि सुरु भएको गैंडा गणना १४ दिनसम्म चल्नेछ । गैंडा गणनाका लागि निकुञ्जका १० वटा हात्तीको प्रयोग गरिएको छ ।
गणनाका लागि १० जना मुख्य गणक र १० जना सहायक गणक तथा हात्तीसारका ३० जना कर्मचारी गरी ५० जना परिचालित भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा पाईने कर्णाली नदी तटीय क्षेत्र र बबई नदी तटीय क्षेत्र एवं आसपासको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैंडा गणना गरिनेछ ।
गैंडा गणना कार्यमा गैंडा गणनासँगै गैंडाको वासस्थान एवं अन्य वन्यजन्तुको अवस्थाबारे पनि जानकारी लिईने छ । गणकहरुले गैंडा गणना गर्नका लागि जिपिएस, क्यामेरा, दुरविनको प्रयोग गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैंडा रहेका थिए । यस पटकको गणनाबाट बर्दियामा गैडाको संख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको छ । सरदर ४ देखि ५ वर्ष अन्तरालमा देशभरी गैंडा गणना गर्ने गरिन्छ । गत वर्ष कोभिडका कारण रोकिएको गैंडा गणना कार्यक्रम ६ वर्षपछि यस वर्ष शुरु गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
१८ चैत्र २०७७, बुधबार १६:४४ प्रकाशित