१५ चैत्र २०८०, बिहीबार
चितुवा र रेडपाण्डाको छालासहित ८ जना पक्राउ
  • काँचुली खबर

प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत व्यूरो र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त टोलीले शनिबार नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका-३ का ५१ वर्षीय धनबहादुर मगर र २२ वर्षीय दलबहादुर खत्री, सोही गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय कविराम अधिकारी, वडा नम्बर २ का ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा र ५६ वर्षीय धनबहादुर रावत, वडा नम्बर ४ का १९ वर्षीय रोशन बस्नेत र भगवतीमाई गाउँपालिका-१ का २७ वर्षीय गोविन्द थापा रहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रहरीका अनुसार उनीहरुलाई कर्णाली प्रदेश ०२-००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जीपमा नौमुले-२ बाट दैलेख बजारतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाइ र ११ इन्च चौडाइ भएको रातो कालो रङको रेडपाण्डाको छाला, ५ फिट ९ इन्च लम्बाइ र १ फिट ५ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ र १ फिट ६ इन्च गोलाइ भएको छाला र ३ फिट १ इन्च गोलाइ भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला पनि बरामद गरिएको प्रहरी निरीक्षक सुनारले बताए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • १४ चैत्र २०७७, शनिबार १७:४५ प्रकाशित
  • Nabintech