१२ बैशाख २०८१, बुधबार
भागरथी हत्याकाण्ड : आरोपीको डीएनए मिल्यो
  • काँचुली खबर

भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७, चुडेपानीकी भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् । तर, फर्किएर आउन पाइनन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार १३:४३ प्रकाशित
  • Nabintech