७ बैशाख २०८१, शुक्रबार
मङ्गल ग्रहमा हेलिकप्टर उडाउने तयारी गर्दै नासा
  • काँचुली खबर

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा राखेको बताएको छ ।

एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो ।

दुईवटा रोटर भएको हेलिकप्टरले पातलो हावा भएको मङ्गलमा उड्ने प्रयास गर्ने छ । सफल भए त्यो ‘राइट दाजुभाइको जस्तो समय’ हुने नासाले बताएको छ ।

ओर्भिल र विलभर राइटले सन् १९०३ मा पहिलो पटक हावाभन्दा गह्रुङ्गो विमान पृथ्वीमा उडाएका थिए ।

नासाले मङ्गल ग्रहमा पठाएको हेलिकप्टरमा त्यो पहिलो उडानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ ।

अहिले हेलिकप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ । गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकप्टरलाई जमिनमा राखिने छ ।

हेलिकप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन् । त्यहाँ सो हेलिकप्टरले पाँच वटा छोटो दूरीको उडान भन्ने प्रयास गर्ने छ ।

पर्सिभिअरन्सले भने ती उडानहरू क्यामरामा उतार्ने प्रयास गर्ने छ ।

‘हामी सकेसम्म इन्जुनीइटीको उडान खिच्ने प्रयास गर्ने छौँ’ नासाका इन्जिनियर फारह अलिबेले बताइन् ।

‘हामीले तस्बिर खिच्ने छौँ । हामीले भिडिओ खिच्ने पनि आशा गरेका छौँ ।’

तर यो चुनौतीपूर्ण हुने उनको भनाइ छ । यान र हेलिकप्टर दुवैले भिन्नाभिन्नै काम गर्छन् तर तीनमा फरक घडी छन् र उडान खिच्नका लागि ती दुवै घडी एकै समयको हुनुपर्छ ।

पातलो हावामा उड्नुपर्ने भएकोले इन्जुनीइटी असाध्यै हलुका छ । यसका कार्बनले बनेका चार वटा पङ्खा छन् जुन प्रतिमिनेट २,४०० पटक घुम्ने दुई रोटरमा राखिएका छन् ।

यसको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने, घुम्ने र ३० सेकेन्ड अडिने खालको सामान्य हुनेछ ।

सफल हुँदै गएमा त्यसपछिका उडानहरू लामो र कठिन खालका हुँदै जाने छन् ।

‘अहिले हामीले योजना बनाएको भनेको सुरुका तीन उडान यसको क्षमता परीक्षण हो जसमा हावामा अडिने, अलि लामो दूरीमा गएर फर्कने हुनेछ’ इन्जुनीइटीका प्रमुख चालक हावर्ड ग्रिपले बताए ।

‘सबै राम्रो भएमा हामी थप कुराहरू गर्न प्रयास गर्छौँ तर त्यसको विस्तृत योजना बनेको छैन ।’

अन्तिम उडानमा केही नाटकीय गरिने हो कि भन्ने प्रश्नमा उनले अनुमान गर्न अस्वीकार गरे ।

नासाले सन् २०३० को दशकका लागि शनि ग्रहको चन्द्रमा टाइटनको सतहको वारपार रोबोट सञ्चालित हेलिकप्टर उडान गर्ने ड्रागनफ्लाई नामक मिशनमा काम गरिरहेको छ ।

सन् १९८० को दशकमा बुध ग्रहको हावामा भेगा बलुनहरू उडाएर तत्कालीन सोभियत सङ्घले अर्को ग्रहमा हवाई उडान गर्न सुरु गरेको थियो ।

वीवीसीबाट

  • ११ चैत्र २०७७, बुधबार १८:३१ प्रकाशित
  • Nabintech