१६ चैत्र २०८०, शुक्रबार
भागरथी हत्याका अभियुक्तले बयान फेरे
  • काँचुली खबर

बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् ।

उनले भने, “अहिले बाबु सुधार गृहमा छ । हामीलाई फोन गरेर आफूले नमारेको बताएको थियो । त्यसपछि दाजु (दिनेशका बुबा दीपकराज भट्ट) र म शनिबार उसलाई भेट्न गएका थियौं । उसले आफूले नमारेको बतायो ।”

पहिले हत्या स्वीकार गरिस्, फेरि अहिले यस्तो किन भन्दैछस् भन्ने बुबा र काकाको प्रश्नमा दिनेशले भने, “मलाई प्रहरीले बुबा र भाइलाई पनि मारिदिने धम्की दिएपछि स्वीकार गरेको हुँ ।”

दुईजना व्यक्तिले हत्या गरिरहेको दिनेशले देखेका कारण अन्त नभन्नसमेत धम्की दिएको उनले बताएको काका देवदत्तले बताए ।

दिनेशका बुबा दिपकप्रकाश भट्टले लेखाजोखासँग भने, “म हिजो बाबु (दिनेश) लाई भेटेर आए । बाबुले हत्या गर्ने एक जनालाई आफूले चिनेको र अर्कोलाई नचिन्ने बताएको छ । चिनेको एकजना वडा कार्यालयकै कर्मचारी हो भन्छ ।”

अहिले यस्तो किन भन्दैछस्, पहिले आफ्नै अगाडि स्वीकार गरेको होस् भन्ने बुबाको प्रश्नमा दिनेशले भने, “पहिला तपाईं (बुबा) गाउँमै हुनुहुन्थ्यो । मेरो घाँटीमा चक्कु लगाएर तपाईं र भाइलाई मारिदिने धम्की दिएको हो । तपाईं गाउँमै हुनुहुन्थ्यो । तपाईंलाई गाउँमा मारिदियो भने म कहाँ जाउँला भनेर स्वीकार गरेको हुँ । अहिले तपाईं गाउँबाट बाहिर हुनुहुन्छ । त्यही भएर मैले साँचो कुरा भनेको हुँ ।” हाल दिनेशका बुबा कञ्चनपुरको महेन्द्रनगरमा भाइको घरमा रहेका छन् ।

तर, यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दिपकराज भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी बताएको थियो ।

दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी थियो ।

दिनेशले यसअघि घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका थिए । हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाइ हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ मा शव फेला परेको थियो । भागरथीको शव लवलेक जंगलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।

घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमा दिनेशलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

लेखाजोखाबाट

  • ८ चैत्र २०७७, आईतवार १५:३१ प्रकाशित
  • Nabintech