एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन् । घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन् ।
किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा आफूले खेप्नुपरेका कहालीलाग्दा घटनाबारे उनले बीबीसी न्यूज नेपालीकी विनिता दाहालसँग कुरा गरेकी छन् ।
उनले बताएको आफ्नो जीवनकथाको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
बाल्यकाल
म सानै छँदादेखि बुवाआमासँग बस्न पाइनँ । उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा काम गर्नुहुन्थ्यो ।
दुवै जना जागिरे हुनुहुन्थ्यो र उहाँहरूको पोस्टिङ अर्को जिल्लामा भएको थियो । त्यसैले म र मेरी बहिनी आमाबुवालाई दशैँतिहारजस्ता चाडपर्वका बेला मात्रै भेट्न पाउँथ्यौँ ।
बहिनीका लागि त अभिभावक सानै भए पनि म थिएँ, मेरो लागि कोही छ जस्तो लाग्दैन थियो ।
आमाको जागिर दुर्गम गाउँमा भएकोले आमाबुवाले हामीलाई सुगम ठाउँकै विद्यालयमा पढून् भन्ने सोचेर होला उहाँहरूसँग लग्नुभएन ।
मैले बुझ्ने बेलादेखि म र बहिनी कहिल्यै पनि बुवाआमासँग बसेनौँ ।
घरमा एकजना काम गर्ने दिदी हुनुहुन्थ्यो । उहाँले नै हामीलाई खाना बनाएर खुवाउने, स्कूल पठाउने गर्नुहुन्थ्यो ।
मेरो पढाइ राम्रो थियो । म १५ वर्षकी हुँदा नै एसएलसी सकेर ११ कक्षा पढ्न सुरु गरिसकेकी थिएँ ।
प्रेमप्रस्ताव
पढाइ भर्खर सुरु भएको बेला थाहा पाएँ, मलाई केही समयदेखि एउटा केटाले पछ्याइरहेको रहेछ । एकदिन मलाई बाटोमा भेटेर उसले सीधै भन्यो, ‘मलाई तिमी एकदमै मनपर्छ ।’
मैले जबाफ दिइनँ । तर उसले पछ्याउन पनि छोडेन ।
फेरिफेरि बाटोमा भेटेर भन्यो, ‘तिम्रो बुवाआमाले तिमीलाई माया नगर्ने भएर हो आफूसँगै नराख्नुभएको । म त तिमीलाई धेरै माया गर्छु । मसँगै बिहे गरेर काठमाण्डू हिँड ।’
उसले यो भनिरहँदा मलाई कताकता लाग्न थाल्योः ‘साँच्चै मेरो आमाबुवाले मलाई माया गर्ने भए त आफैँ राख्नुहुन्थ्यो । यतिका वर्षदेखि उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा नै बस्दै आउनुभएको छ ।’
जागिरको सिलसिलामा हाम्रो घरतिर आएको उसले मलाई पछ्याइरहेपछि मैले उसको कुरा पत्याएँ । उसँगै भागेर काठमाण्डू आएँ ।
बुवाआमाले एक हप्तापछि म ऊसँग भागेको थाहा पाउनुभएछ । काठमाण्डूमा मैले चिनेको ऊबाहेक अरू कोही पनि थिएन ।
विवाहपछि एक महिनाजस्तो हामी बस्यौँ । मेरो पढाइ छुटेको थियो ।
उसैले काठमाण्डूको एउटा कलेजमा मलाई ‘पढाइलाई निरन्तरता देऊ’ भनेर भर्ना पनि गरिदियो ।
फेरि एक्लै
अनि जागिरको सिलसिलामा नयाँ ठाउँ पोस्टिङ भयो भनेर ऊ एक महिनापछि मलाई एक्लै छोडेर गयो । त्यसपछि महिनैपिच्छे ९/१० हजार रुपैयाँको दरले मलाई खर्च पठायो ।
तीन महिनापछिचाहिँ उसले मलाई वास्ता गर्न छोड्यो । फोन गर्दा पनि उठाएन । मेरो नम्बर ब्लक गरेछ ।
साथीको मोबाइल फोनबाट गर्दा पनि मेरो स्वर सुन्नेबितिक्कै फोन काट्न थाल्यो ।
मैले घाँटीमा लगाएको सुनको सिक्री बेचेर अरू दुई(तीन महिना जेनतेन चलाएँ । काम पनि केही थिएन । त्यसपछि त खानेकुराकै अभाव हुन थाल्यो ।
कोठा भाडा तिर्न पनि पैसा हुन छोडेपछि घरपतिले कोठामा भएका गतिला सामान पनि लैजान थाले ।
बुवाआमालाई पटकपटक फोन गरेँ । उहाँहरूले ‘तँ हाम्रा लागि मरिसकिस्, आइन्दा फोन नगर्’ भन्नुभयो ।
मसँग न काठमाण्डूमा चिनेको कोही मानिस थियो न कोही आफ्ना भन्ने अरू कोही थिए । भोक लागे पनि कोठामा रुँदै बस्नुको विकल्प थिएन ।
म बस्ने कोठानजिकै भएको एकजना आन्टीले चाहिँ मलाई भएको बेला पैसा तिर्नु भनेर चिया खाजा खान दिनुहुन्थ्यो । ममाथि दया देखाउनुभएको थियो ।
‘व्यापार’को प्रस्ताव
म भोक सहनै नसकेपछि त्यहीँ गएर खाजा खाने गर्थेँ । एक दिन एक्कासि अलि फरक लवज भएको एउटा मान्छे मेरो छेउमा आएर बस्यो ।
उसले मलाई सीधै भन्यो, ‘तिमी असजिलोमा परेको मलाई थाहा छ । तिमी र म मिलेर एउटा ‘बिज्नेस’ गरौँ ।’
मैले छक्क परेर जबाफ फर्काएँ, ‘बिज्नेस गर्न त पैसा चाहिन्छ, म सँग त पैसा छैन ।’ उसले भन्यो, ‘पैसा चाहिँदैन । हामीले एउटा फेसबुक अकाउन्ट खोलेर सँगै काम गर्नुपर्छ ।’
मैले उत्सुकतासहित उसलाई हेर्दै सोधेँः कस्तो काम ? उसले अलिकति पनि धक नमानी क्याफेको न्याप्किनमा फोन नम्बर लेखिदिँदै भन्यो, ‘तिमी ग्राहकहरूसँग उनीहरूले भनेको ठाउँमा जानुपर्छ ।’
मलाई के गरौँ र कसो गरौँ भयो । तैपनि भनेँ, ‘मेरो अगाडि यस्तो भन्ने हिम्मत कसरी गरेको ?’
उसले एकदम स्वाभाविक भएर भन्यो, ‘असजिलो मान्नुपर्दैन यो काम धेरैले गर्छन् तर कसैले पनि थाहा पाउँदैन । तिम्रो र मेरो बीचको कुरा मात्रै हो ।’
म जुरुक्क उठेर हिँडेँ । कोठामा बेलुका खानेकुरा केही थिएन । रातभरि सोचेँ ।
फेसबुकबाट ग्राहक
यसअघि नै मैले अनुनयविनय गर्दा पनि बुवाआमाको मन फर्काउन सकेकी थिइनँ । विवाह गरेर ल्याएको केटाको अत्तोपत्तो थिएन ।
अनि राति सोच्दासोच्दै लाग्यो, ‘यसरी बस्नुभन्दा त बरु त्यही काम गरेरै बाँच्छु । आखिर कसैले थाहा नपाए के हुन्छ र ?’
मैले भोलिपल्ट उसलाई फोन गरेर भेटेँ । उसले मलाई सँगै राखेर फेसबुकमा एउटा फेक आईडी बनायो ।
नाम ‘लभ्ली रोज’ । फोटो गुलाफकै । अनि परिचयमा (बायो), ‘वी ह्याभ गर्लस् । इफ यू वन्ट टु इन्जोए, कन्ट्याक्ट अस ।’ (हामीसँग केटीहरू छन् । तपाईँ रमाइलो गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् ।)
त्यो फेसबुकमा एक महिनाभित्रै ५,००० साथी बनाउन मिल्ने सीमा नाघ्यो ।
यौनसम्बन्धका प्रस्तावहरू थामिनसक्नु गरी आउन थाले । उसैले मलाई ‘यहाँ जाऊ, त्यहाँ जाऊ’ भन्थ्यो । आएका सबै सन्देशको पनि उसैले उत्तर दिन्थ्यो । म चाहिँ नयाँ नयाँ ग्राहकसँग जान्थेँ ।
बिस्तारै आम्दानी हुन थाल्यो । भाडा तिर्न सकेँ । चिया पसलकी दिदीको पहिलाको पैसा चुक्ता गरेँ ।
त्यो मान्छेले ग्राहकले दिएको आएको पैसाको ७५ प्रतिशत मलाई दिन्थ्यो, २५ प्रतिशत आफू लिन्थ्यो ।
गलत हो भन्ने सोच्दासोच्दै पनि मैले यस्तो काम गर्न थालेकी थिएँ । मलाई त्यो काम गर्न उक्साउने त्यो व्यक्ति र मलाई बाहेक अरू कसैलाई यसबारे थाहा थिएन ।
पक्राउ
यसैगरी समय व्यतीत हुँदै थियो । छ महिना हुँदा पनि मलाई यो सबै सपना पो कि जस्तो पनि लाग्थ्यो ।
एक दिन उसले फोन गरेर भन्यो, ‘तिमी सुन्धारा जाऊ । त्यहाँ एउटा मान्छे छ । त्यहाँ पुगेर मैले दिएको नम्बरमा उसलाई फोन गर ।’
सुन्धारा पुगेर टेलिकम कार्यालयअगाडिबाट मैले फोन गरेँ ।
फोन गरेको केही बेरमै दुईजना महिला प्रहरी त्यहाँ आए । उनीहरूले हामीलाई सबै कुरा थाहा छ भनेर प्रहरी भ्यानमा हालेर थानामा लगे ।
मैले केही बुझिनँ । त्यो घटना हुँदा म १६ वर्षकी मात्रै थिएँ । थुनामा लगेपछि उनीहरूले नै मलाई सबै भने ।
त्यसरी फेसबुकको फेक आईडीमार्फत् यौनधन्दा गर्ने गरेको थाहा पाएपछि प्रहरीले नै ग्राहक भनेर उससँग सम्पर्क गरेको रहेछ ।
त्यसरी म प्रहरीको पक्राउमा परेँ । ऊ पर्यो कि परेन थाहा छैन ।
सुधारगृह
म १६ वर्षकी मात्रै भएकोले मलाई थुनामा नहालेको प्रहरीहरूले भने । मलाई सुधारगृहमा पठाइयो ।
त्यहाँ परामर्शका क्रममा मैले गरिरहेकी थिएँ त्यो कति खतरनाक काम रहेछ भन्ने थाहा पाएँ ।
म सुधारगृहमा बसेँ । त्यहाँका बालबालिकालाई पढाउन थालेँ ।
आफूले फेरि क्याम्पस पढ्न थालेँ । अहिले सबै ठिकठाक छ । शिक्षा अनुसारको काम गरेर कमाउँछु । आफ्नो गुजारा चलाएकी छु । तर विगतको तीतो यथार्थले अझै पनि बेलाबेला मलाई पिरोल्छ ।
मैले भोगेको त्यो कहालीलाग्दो घटना कसैको जीवनमा पनि नहोस् । यसै भएर ममाथि जे भयो त्यो मजस्तै अरू किशोरीले भोग्नु नपरोस् भन्ने लाग्छ ।
भागेर बिहे गर्दा म १५ वर्षकी थिएँ र देहव्यापारमा संलग्न हुँदा १६ वर्षकी ।
त्यसैले मलाई त्यो उमेरका किशोरीहरू सामाजिक सञ्जालमार्फत् हुने यस्ता क्रियाकलापबाट सतर्क होऊन् भन्ने लाग्छ ।
मैले सानै उमेरमा नबुझेर गरेको गल्तीका कारण ममाथि जे भयो त्यो समाजले थाहा पायो भने अहिले पनि मलाई नै दोषी देख्छ ।
मलाई यो अवस्थामा ल्याउने दुई पुरुषलाई केही भन्दैन । जे जस्तोसुकै परिस्थति होस्, गलत भन्ने लाग्दालाग्दै त्यसमा खतरनाक काम गर्नु नहुने रहेछ ।
आफ्नो टाढाको र टाढाको मान्छे आफ्नो कहिल्यै हुँदैन रहेछ । त्यस्तो सङ्कटको अवस्था परे आफ्नै मान्छेलाई भन्नुपर्छ ।
उहाँहरूले गाली गरे त्यसलाई पचाएर भए पनि उहाँहरूकै भरथेग खोज्नुपर्छ ।
यदि कोही छैन जस्तो लाग्छ भने प्रहरीलाई भन्नुपर्छ ।
‘अरूलाई यस्तो नहोस्’
मेरो दिमागमा पनि प्रहरीलाई भनौँ कि भन्ने नलागेको होइन । तर प्रहरीलाई भन्न सकिनँ किनभने मैले १५ वर्षकै उमेरमा भागेर विवाह गरेकाले प्रहरीले मलाई नै दोषी देख्छ कि भन्ने लागेको थियो ।
तर फेसबुक प्रयोग गरेर यौनकर्म गर्ने प्रस्ताव आउनेबितिक्कै प्रहरीलाई भनेको भए पनि म जोगिने थिएँ ।
अनि मेरो घटनामा मलाई के पनि लाग्छ भने मेरो मात्रै गल्ती थिएन, मेरो बुवाआमाको पनि गल्ती थियो ।
उहाँहरूले ‘सन्तानलाई राम्रो ठाउँमा स्कूल हालिदिएका छौँ, पैसाले पुर्याएका छौँ’ भन्नुभन्दा सँगै राखेर पढाउँछु भनेको भए सायद मलाई केही पनि हुँदैन थियो ।
अनि म असजिलोमा छु भनेर काठमाण्डूबाट फोन गर्दा ‘तँ हाम्रा लागि मरिस्’ भन्नुभन्दा घर फर्किन भनेको भए मसँग फेरि कहालीलाग्दो घटना हुने थिएन ।
अब मैले त केवल पश्चाताप गर्ने कुरामात्रै बाँकी छ ।
सपनाजस्तो लाग्ने त्यो समय अहिले सम्झँदा पनि भक्कानो छुटेर आउँछ । मलाई निकै गाह्रो हुन्छ । तर मलाई कम्तीमा मेरो कुरा थाहा पाएर अरू किशोरीहरू त्यस्तोमा नपरून् भन्ने छ ।
म आफू कसरी सामाजिक सञ्जाल मार्फत किशोरावस्थामै तस्करीमा परेँ त्यो थाहा पाउन् भन्नका लागि मैले आफ्नो यथार्थ घटना भनेकी हुँ ।
(ती किशोरीको परिचय नखुलोस् भनेर बीबीसीसँग व्यक्त गरिएका कतिपय अंश सम्पादन गरिएको छ ।)
७ चैत्र २०७७, शनिबार १३:४४ प्रकाशित