नाफामा नेपालगन्ज विमानस्थल, २८ लाख बचत
  • काँचुली खबर

बाँकेको नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ रहेको छ ।

देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७२/७३ यताको पाँच वर्षको औसतः आम्दानी तथा खर्च विवरण अनुसार त्रिभुवन विमानस्थल, हिमाली भेगका दुई र तराईका सात विमानस्थलमात्र नाफामा छन् । ४३ वटा विमानस्थल घाटामा छन् । तीमध्ये कतिपय त आम्दानीविहीन नै छन् ।

प्राधिकरणका सबैभन्दा राम्रो आम्दानी गर्नेमा त्रिभुवन विमानस्थल नै छ । अन्तर्राष्ट्रिय विमानस्थल हुनु र यात्रु र उडानको संख्या बढी हुने कारणले काठमाडौंले स्वाभाविक रुपमा बढी आम्दानी गर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

त्रिभुवन विमानस्थल अहिले नेपाललाई अरु देशहरुसँग हवाईमार्गसँग जोड्ने एक मात्र विन्दु हो ।

प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा पहाडी र हिमाली भेगका अधिकांश विमानस्थल घाटामा सञ्चालन भएका छन् । लामो समयदेखि बन्द रहेर हालै सञ्चालनमा आएका तराईका राजविराज र जनकपुर विमानस्थल समेत घाटामा छन् ।

लुक्ला उडानमा काठमाडौंको विकल्पका रुपमा सञ्चालनमा आएको रामेछाप विमानस्थल, कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल पनि घाटामा छ ।

यी विमानस्थलमा उडान र अवतरणबाहेक अन्य आम्दानी नहुने, जहाजको रात्रीकालीन विसान नहुने भएकाले पार्किङ शुल्क समेत नउठ्ने भएकाले यस्ता विमानस्थलको आम्दानी न्युन भएको हो ।

घाटामा सञ्चालनमा रहेका विमानस्थलको सूचीमा पर्यटकीय गन्तव्य रारादेखि चलेको विमानस्थल सिमरासम्म छन् । सुदूरपश्चिममा लामो समयदेखि बन्द रही हालै सञ्चालनमा आएका डोटी, बझाङ, बाजुराका विमानस्थल समेत घाटामा सञ्चालित छन् ।

  • २९ फाल्गुन २०७७, शनिबार १३:३२ प्रकाशित
  • Nabintech