भारतमा भेटियो ‘अस्थिपञ्जरको ताल’ !

भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन् ।

उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ ।

‘अस्थिपञ्जरको ताल’मा मानव अवशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएको हो ।

वर्षको अधिकांश समय हिउँ जमिरहने उक्त तालको आकार मौसमअनुसार घट्ने र बढ्ने हुन्छ । हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन् । कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ ।

अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ ।

‘रहस्य’मा पुरिएका को थिए ती ?

पर्यटन प्रवर्द्धनका निम्ति स्थानीय सरकारले त्यसलाई ‘रहस्यपूर्ण ताल’ भन्ने गरेको छ ।

आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेका छन् तर गुत्थी सुल्झिएको छैन ।

ती मानिस को हुन् ? कहिले मृत्यु भयो ? ती कहाँबाट त्यहाँ पुगेका थिए ?

त्यससँग एउटा पुरानो कथा जोडिन्छ जसमा भारतीय राजा, उनकी पत्नी र सेवकहरू करिब ८७० वर्षअघि हिउँको सिरेटोको सिकार भएका थिए ।

अर्को कथा पनि छ, केही मानव अवशेष सन् १८४१ मा तिब्बत कब्जा गर्न गएका भारतीय सुरक्षाकर्मीहरूको हो जसलाई परास्त गरेर भगाइएको थियो ।

उक्त भनाइअनुसार ७० भन्दा धेरै सुरक्षाकर्मी हिमालयको बाटो हुँदै घर फर्किन बाध्य बनाइए र बाटोमै उनीहरूको मृत्यु भएको थियो ।

एउटा अर्को मान्यताअनुसार त्यो एउटा अन्तिम संस्कार गर्ने स्थल पनि हुनसक्छ जहाँ महामारीका पीडितहरूको अन्तिम संस्कार गरिएको होस् ।

त्यस क्षेत्रमा पर्ने गाउँहरूमा चर्चित एउटा लोकगीतमा भगवती नन्दादेवीले फलाम जत्तिकै कडा आँधीको सृष्टि गरिन् जसले गर्दा ती मानिस त्यहीँ पुरिए ।

भारतको दोस्रो अग्लो हिमाल नन्दादेवीलाई भगवतीको रूपमा श्रद्धा गरिन्छ ।

पाको उमेरका महिला पनि

अस्थिपञ्जरबारे यसअघिका अध्ययनहरूले मारिएका अधिकांश मानिसहरू ‘औसत संरचनाभन्दा’ अग्ला रहेको पत्ता लगाएका छन् ।

धेरैजसो ३५ देखि ४० वर्षका रहेको एवं शिशु र बालबालिका नरहेको पत्ता लगाइएको छ । केही पाको उमेरका महिला थिए जो सबैको स्वास्थ्य सामान्यता राम्रो थियो । साथै त्यो अवशेष नवौँ शताब्दीमा कुनै महाविपत्तिमा परेर ज्यान गुमाएका एउटै समूहका मानिसको भएको आम मान्यता पनि पाइन्छ । भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येताहरू संलग्न पछिल्लो पाँच वर्ष लामो अध्ययनले ती अनुमानहरू सत्य नहुन सक्ने उल्लेख गरेको छ । वैज्ञानिकहरूले जेनेटिक विश्लेषण र कार्बन डेटेड विधिबाट १५ जना महिलासहित ३८ वटा मानव अवशेषको अध्ययन गरेका थिए जसमा केही १,२०० सय वर्षअघिका थिए । जसअनुसार मृतकहरू वंशाणुगत रूपमा फरक-फरक छन् र मृत्यु पनि एक हजार वर्षसम्मको अन्तरमा भएको छ ।

‘यसले एउटै प्रलयका कारण सबैको मृत्यु भएको मान्यताको खण्डन गरेको छ’, अध्ययनको नेतृत्व गरेकी हार्वर्ड विश्वविश्वविद्यालयमा विद्यावारिधिकी विद्यार्थी एडाओइन हार्नी भन्छिन् ।

‘रूपकुण्डमा के भएको थियो भन्ने अझै अस्पष्ट छ तर एउटा घटनामा सबैको मृत्यु भएको थियो भनेर व्याख्या गर्न नसकिने निष्कर्षमा अब हामी निश्चिन्त भएका छौँ ।’

एउटै घटनामा मारिएका हुन् ?

तर थप चाखलाग्दो कुरा के हो भने वंशाणुगत अध्ययनले मृतकहरूको एउटा समूह अहिले दक्षिण एसियामा बसिरहेका मानिसहरूसँग मिल्दो देखिन्छ ।

अर्को समूह अहिले युरोप खासगरी ग्रिकको क्रिट टापुमा बस्नेहरूसँग ‘निकट सम्बन्धित’ देखिन्छ ।

अनि दक्षिण एसियालीसँग मिल्ने मृतकहरू पनि ‘एउटै समुदायको भएको देखिन्न’ ।

‘तीमध्ये केहीको वंश उपमहाद्वीपको उत्तर र केहीको दक्षिणतर्फका मानिसहरूसँग मिल्दोजुल्दो छ’ हार्नीले भनिन् ।त्यसो भए केही सय वर्षअघि फरक-फरक समूहका मानिसहरू ससाना समूहमा यात्रामा गएका थिए ? तीमध्ये केही एउटै घटनामा मारिएका हुन् ? ताल व्यापारिक मार्गमा पर्दैन र त्यहाँ हातहतियार वा व्यापारिक सामग्री भेटिएका छैनन् ।

वंशाणुगत अध्ययनले कुनै प्राचीन जैविक कीटाणु पनि फेला परेको छैन जसले गर्दा रोगका कारण ती मानिस मारिएको बताउन सकियोस् ।

युरोपबाट हिन्दु तीर्थाटनमा ?

मानिसहरू त्यो क्षेत्रमा किन यात्रा गर्दै थिए भन्ने कुरा सम्भवतः तालको बाटोमा पर्ने तीर्थस्थलले जनाउँछ ।

अध्ययनहरूले १९औँ शताब्दीको अन्त्यसम्म त्यस क्षेत्रमा तीर्थस्थलको विश्वसनीय प्रमाण नरहेको देखाएका छन् ।

तर स्थानीय मन्दिरहरूका आठौँ र १०औँ शताब्दीको बीचका शिलालेखले ‘सम्भावित तीर्थाटन औँल्याउँछन् ।’

त्यसैले वैज्ञानिकहरूले त्यस क्षेत्रमा फेला परेका केही अवशेषहरू ‘तीर्थाटनकै क्रममा सामूहिक मृत्यु’ भएकाहरूको हुनसक्ने विश्वास गर्छन् ।

तर पूर्वी भूमध्यसागर भूमिबाट कसरी मानिसहरू भारतको अग्लो हिमालस्थित विकट तालसम्म पुगे ?

युरोपबाट लामो बाटो हुँदै हिन्दू तीर्थस्थलमा सहभागी हुन रूपकुण्ड मानिसहरू पुग्ने सम्भावना कम देखिन्छ ।

वा वंशाणुगत रूपमा अलग पूर्वी भूमध्यसागर क्षेत्रका पूर्वजका कैयौँ पुस्ता त्यस क्षेत्रमा बस्दै आएका थिए ?

‘हामी अझैँ पनि जबाफहरूको खोजी गरिरहेका छौँ’ हार्नीले भनिन् ।

वीवीसीबाट