१४ बैशाख २०८१, शुक्रबार
व्यवसायिक सुरक्षा प्रमुख एजेण्डा : लोकतान्त्रीक व्यवसायी समूह
  • काँचुली खबर

लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक सुरक्षा नै रहेको बताएका छन् ।

‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले बिहीबार कोहलपुरको उज्वल मेडिकल हल, न्यूरोड, चौराहा, मुख्य बजार, साँझा चोक, पीपलचौतारा हुँदै हाईस्कुल चोकसम्मका व्यवसायिहरुसँगको भेटघाट गर्दै कोहलपुर क्षेत्रको व्यापार व्यवसायको सुरक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताए ।

विशेष गरी कोहलपुरका पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द गर्नुपरेको, रुपैडिया बजारले कोहलपुरको व्यवसायमा असर गरिरहेको, खाद्य,मासु तथा माछा पसलमा अनावश्यक अनुगमन गरि दुःख दिईरहेको लगायतका समस्याहरु लोकतान्त्रीक समावेशी व्यवासयी समूहका उम्मेद्वारहरु बिचमा राखेका थिए । साथै फुटपातमा व्यवसायी गर्नेहरुले आफ्नो दिर्घकालिन रुपमा व्यवस्थापन गर्न माग गरेका छन् ।

लोकतान्त्रीक समावेशी व्यवासयी समूहबाट कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले व्यवसायीहरुले झेल्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो टिमले नीतिगत व्यवस्था नै गरी आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उनले कोहलपुरमा देखिएको फुटपातको समस्यालाई स्थायिन सरकारसँग सहकार्य गरी उचित व्यवस्थापन गर्ने, सिमापारको व्यवसायलाई निरुत्साहित गर्न राज्यले बनाएको ऐन र नियमको परिपालना गराउन सम्बन्धित निकायलाई कडा दवाव दिनुका साथै उपभोक्ता जागरण अभियान आफ्नो टिमले संचालन गर्ने प्रतिवद्धता व्यवसायीहरुको बिचमा गरेका छन् ।

सो क्रममा कोरोना भाईरसपछि व्यापार व्यवसायिमा देखिएको समस्यालाई मध्यनजर गर्दै कोरोनाबाट प्रभावित व्यवसायीहरुको व्यवसाय पुर्नउत्थानका लागि विशेष नीति लिएर विभिन्न कार्यक्रमहरु ल्याउने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले बताएकी छिन् । साथै खाद्य, माछा र मासु पसलहरुमा अनावश्यक अनुगमन गरी व्यवसायीहरुलाई दुःख दिने कार्यलाई रोक्नका लागि पहल गर्दै उक्त व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबैसँग सहकार्य गर्ने लोकतान्त्रीक समावेशी व्यवासयी समूहबाट कोषाध्यक्ष पदकी उम्मेद्वार सीता कार्कीले बताएकी छिन् ।

साथै घरधनि र व्यवसायी बिचको समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि आफ्नो टिमले विशेष नीति लिई कार्यन्वयनमा ल्याउने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट उप–महासचिव पदका उम्मेद्वार दिपक बहादुर भण्डारीले बताएका छन् । साथै लोकतान्त्रीक समावेशी व्यवासयी समूहलाई ईलोक्ट्रोनिक्स व्यवसाय संघले आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ

  • १३ फाल्गुन २०७७, बिहीबार १७:१७ प्रकाशित
  • Nabintech