१३ बैशाख २०८१, बिहीबार
निधन भएको २५ वर्षपछि गायकको स्वरमा नयाँ गीत रेकर्ड
  • काँचुली खबर

दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो । तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए । कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो ।

आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको स्वर सिर्जना गरिएको हो । ‘सिंगिङ भ्वाइस सिन्थेसिस’ नामक एआइ प्रणालीले किमका २० वटा गीत अभ्यास गरेको थियो । भाषा र लवज मिलाउन उक्त एआइलाई किमको स्वरमा सात सयभन्दा बढी गीत गाउन र बोल्न पनि सिकाइएको थियो ।

यसरी सिक्दै गएपछि एआइले किमकै शैली र स्वर नक्कल गरेर नयाँ गीत गाएको एआइ कम्पनी ‘सुपरटोन’ ले जनाएको छ । यही कम्पनीले २५ वर्षअघि निधन भइसकेका गायक किमको गीत पुनः सिर्जना गरेको हो । यो गीत गायक किमले भने रेकर्ड गराएका थिएनन् । उनको स्वरमा एआइले नयाँ गीत गाएको हो ।

किम दक्षिण कोरियाका निकै चर्चित गायक थिए । सन् १९६४ मा जन्मेका उनको ३१ वर्षकै उमेरमा निधन भएको थियो । सन् १९९६ जनवरीमा उनी आफ्नै घरमा तारले पासो लगाएको अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको प्रहरीले बताए पनि परिवारले हत्या भएको जिकिर गरेका थिए । तर यसको पुष्टि हुन सकेन ।

किमको निधनपछि पनि कोरियामा उनको सम्झनामा धेरै कार्यक्रम भइरहन्छन् । प्रशंसकहरू अहिले पनि उनका गीत सुन्छन् । उनको यही लोकप्रियतालाई निरन्तरता दिँदै रोबोटद्वारा किमको स्वर पुनः सिर्जना गरिएको हो ।

किमको स्वरलाई रोबोटमार्फत् गाउन दिन कम्पनीले उनको परिवारसँग अनुमति लिनुपर्ने थियो । कम्पनीकी निर्माता किम-मिनजीका अनुसार उनीहरूले अनुमति दिन्छन् कि दिन्नन् भन्नेमा दुविधा पनि थियो ।

‘तर जब हामीले एआइले किमको स्वरमा गाएको सुनायौं, उहाँहरू सबै खुसी हुनुभयो । सुरूमा अलमल भए पनि गीत सुनिसकेपछि किम नै फर्केर आएझैं लागेको भन्नुभयो’, मिनजीले भनेकी छन् ।

केही सोलबासीले भने किमको स्वरमा रोबोटले गीत गाएकोमा चित्त नबुझेको बताएका छन् । २६ वर्षीया इम उक-जिन रोबोटको यस्तो काम देखेर आफू चिन्तित भएको बताउँछिन् ।

‘मलाई रोबोटले मान्छेको दुरूस्त नक्कल गर्ने कुराले अत्ताएको छ । केही सीप र बानीहरू मान्छेका मात्र मौलिक हुन्छन् । यदि रोबोटले त्यो नक्कल गर्छ भने भविष्यमा यो संसारमा उसैको दबदबा हुन्छ, मान्छेको हुँदैन’, उनले भनेकी छन् ।

तर कम्पनीका प्रमुख निर्माता नाम साङ-मून रोबोटले मान्छेका काम खोस्ने वा कामको नक्कल गर्नेबारे मात्र सोच्न नहुने बताउँछन् ।

‘एआइ प्रविधिबाट मान्छेलाई दिन सकिने खुसी र सहयोगबारे पनि सोच्नुपर्छ’, नामले भनेका छन् ।

  • ११ फाल्गुन २०७७, मंगलवार १५:१६ प्रकाशित
  • Nabintech