११ बैशाख २०८१, मंगलवार
बाँकेमा पल्पी ब्रान्डका जुसहरूको बिक्री सुरु
  • काँचुली खबर

पल्पी ब्रान्डका जुसहरूको बिक्री नेपालगन्जमा सुरु गरिएको छ । युनाइटेड वेभरेज प्रालिका झन्डै एक दर्जन ब्रान्डहरूको एकसाथ नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, युनाइटेड वेभरेज प्रालिका अध्यक्ष भेषराज दुवाडी, संस्थापक अध्यक्षसमेत रहेका कार्यकारी प्रमुख कृष्ण अधिकारी, एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटालगायतले संयुक्त रूपमा बिक्री शुभारम्भ गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले पछिल्लो नाकाबन्दीले नेपालीलाई आफैंमा आत्मनिर्भर र सबल हुनुपर्छ भन्ने पाठ सिकाएको बताए । “अब कुरा होइन, कामले स्वाभिमानी बनौं,” अध्यक्ष वैश्यले पल्पी जुस लन्च गर्दै भने, “त्यसको सुरुवात स्वदेशी उत्पादन प्रयोग गरेर गरौं ।” संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सकेसम्म नेपाली उद्योगका उत्पादनलाई प्रयोग गरौं नसके नेपालमै खरिददारी गरौं भन्दै सीमापारीको व्यापारमा फाइदा नदेख्न उपभोक्ताहरूलाई सचेत गराए ।
कम्पनीका अध्यक्ष भेषराज दुवाडीका अनुसार, ५ वर्षदेखि रत्ननगर–१० चितवनमा उद्योग राखेर दुइटा ब्रान्ड उत्पादन गर्दै आएको युनाइटेड वेभरेजले यस वर्षदेखि थप १० वटा स्वादका ब्रान्ड उत्पादन गरेपछि देशभरी बिक्री शुभारम्भ गर्दै हिँडेको हो ।
गत जेठ २० गते काठमाडौंबाट बिक्री शुभारम्भ गरेको पल्पीले पोखरा, बुटवल, सुर्खेत हुँदै नेपालगन्जमा लन्चिङ ग¥यो । बोर्ड अफ डाइरेक्टरसमेत रहेका एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटाले भने, “विदेशीभन्दा स्तरीय उत्पादन उपभोक्तामाझ दिइरहेका छौं ।” सापकोटाले झन्डै ५ करोड लिटर वार्षिक जुसको आयात प्रतिस्थापनका लागि उद्योगले उत्पादन बढाउँदै गएको बताए ।
लन्चिङ कार्यक्रममा बोल्दै संस्थापक अध्यक्षसमेत रहेका कार्यकारी प्रमुख कृष्ण अधिकारीले आयातित जुसको एकाधिकार तोड्ने भरपर्दो विकल्पका रूपमा पल्पी आएको बताए । “हामी छिट्टै बजारमा समेत प्रवेश गर्दैछौं,” कार्यकारी प्रमुख अधिकारीले भने ।
लन्चिङ कार्यक्रममा लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसूदन शर्मा रिजाल, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका श्यामसुन्दर अधिकारी, सिद्धार्थ कटेजका प्रबन्धक पुरुषोत्तम आचार्य, सेन्चुरी बैंकका शाखा प्रबन्धक प्रकाश गौतम, उपभोक्ताका तर्फबाट अक्कल बहादुर बम लगायतले स्वदेशी पुँजी संरक्षणसँगै स्वदेशी उत्पादनलाई हरेक नेपालीले प्राथमिकतामा राख्न जोड दिए ।
“७५ प्रतिशत पुँजी स्वदेशमै रहने गरी कम्पनीले काम गरिरहेको छ,” तराईका अधिकांश जिल्लामा बजार बिस्तार गरिसकेको युनाइटेड वेभरेजका अध्यक्ष दुवाडीले भने, “दुई सय बढीलाई रोजगारी दिएका छौं ।” उनले कच्चा पदार्थका लागि २५ प्रतिशत रकम बाहेक बाँकी सम्पूर्ण रकम स्वदेशमै परिचालित हुने बताए ।
मेङ्गो, पिङ्क गोभा ब्रान्डबाट २०७१ चैतबाट उत्पादन सुरु गरेको युनाइटेड वेभरेज प्रालिले झन्डै ५० करोड लगानी पु¥याएर थप १० वटा स्वादका उत्पादनहरू गत जेठ २० गतेदेखि बजारमा पठाएको हो । ह्याप्पी आवर ब्रान्डका नाममा उत्पादन बजारमा पठाएको कम्पनीले जनाएको छ ।
नेपालगन्जस्थित एरिया म्यानेजर जनक ढकाल र डिष्ट्रिब्युटर रामकुमार सिंह राठौरले उपभोक्ताबाट राम्रो डिमान्ड आएको बताए । “खाद्य तथा गुण नियन्त्रण कार्यालयले पछिल्लो वर्ष उत्कृष्ट खाद्य उद्योगका रुपमा सम्मानसमेत गरेको छ,” उद्योग सञ्चालक भीम पाण्डेले भने ।

 

 

कारोबार अनलाईनबाट

  • ७ असार २०७५, बिहीबार ०९:१७ प्रकाशित
  • Nabintech