४ बैशाख २०८१, मंगलवार
‘भ्यालेन्टाइन डे’ !
  • काँचुली खबर

आजकै दिन पोहोर साल
भ्यालेन्टाइन डे मनाएको यो शहरले
दबाउन सकेनछ बाग्मतीको किनारमा फालिएका
बग्रेल्ती शिशुहरू,
बगाउन सकेनछ सडक वरिपरि लत्रिरहेका
हजारौँ हजार ढालहरू,
फेरि पनि आउँछ जब आजको दिन
मलाई हम्मे पर्छ कोठा पुग्न
त्यसै पनि धुलाग्मे यो शहर
मैलो र रोगी छ
दमले च्यापेको मेरो बुबाजस्तै ।

 

मालिङ्गो घारीमा पिपिरी र बाँसुरी बजाएर
जोगाएको अघिल्लो सभ्यता
पार्टी प्यालेस र बारभित्र
धुम मचालेसँग ककटेल भएको देख्दा
तिरमिराउँछन् बाआमाका आँखाहरु
ठीक र बेठीकको तराजुमा,
कचेरा निस्केका चिम्सा आँखाभरि आँसु पार्दै
हजुरबा झ्यालबाट भन्नुहुन्छ
रहरलाग्दो गुलाब बगैँचाबाट लुछ्छन्
र शीरमा लाउन नपाई फाल्छन् फुत्त फुत्त भूईंमा
अनि कुल्चिइन्छन् ती फूलहरू जताततै,
मृग र खरायोका पाठा झैँ नाच्छन् नाती नातिना
मात्छन् आ-आफ्ना भ्यालेन्टाइनहरूसँग ।

 

आत्मासँग प्रेम त शास्त्रमा मात्र हो
युगयुगान्तर प्रेम त कथामा मात्र हो
यहाँ त लुछ्ने र लुछिनेको ताँती हुन्छ
ठूलो कराईभित्र भुटभुटिइरहेका
यी लाखौँ मानव झिँगाहरू
र्यालमा लत्पतिएर वासनाभित्र
अतृप्त भोकसँग जकडिइरहेका छन्,
बजारमा तरकारी छानेजस्तो
छानिएका र छामिएका युवायुवतीहरू
क्षणभरमै भरिन्छन् होटल र बारहरूमा
गल्ली र पार्कहरूमा
अनि क्लियोपेट्रा, हेलेन, सुनकेस्रा
प्राणप्रिय, देवता जस्ता शब्दहरू फुसफुसाउँदै
लीन भएको शरीर
फोहोरको बोक्राजस्तो किनार लागेर ढलमा
मूल्यहिन बनिदिन्छ एकैछिनमा,
ठीक त्यसैबेला नाचिरहेको हुन्छ उता शहर
मातिरहेको हुन्छ राज्य स्वयम्
अनि बन्छ यही सभ्यताको उद्गम ।

 

जसरी सारा ब्रम्हाण्डलाई नछोएरै पनि
सूर्यले सबैलाई प्रेम गरिरहन्छ अटुट,
ग्रह उपग्रहहरू घुमिरहेकै छन् उसको प्रेमिल दुनियाँमा,
हावाले पृथ्वीलाई नदेखिकनै प्रेम गर्छ
पानी र माटोले जीवन्त बनाइरहन्छन् धरतीलाई
कुकुरलाई म्वाई खाँदा सभ्यता मान्ने यी मान्छेहरू चाहीँ
मान्छेको नै रगत चुस्छन् र भन्छन्
ह्यापी भ्यालेन्टाइन डे ।

 

सम्झँदा मात्र पनि तिघ्रा काँप्छन्
हात थरथराउँछन् र बोली लरबराउँछ,
प्रेमको वहानामा
एक अर्कालाई छोइएर नजिकिएर
ठोकिएर र जोडिएर
वासनालाई प्रेम मानेर
यदि ग्रह र उपग्रहहरूले पनि
मान्छेले जस्तै
भ्यालेन्टाइन डे मा भुलेका भए ?

 
 

धर्म तिवारी

  • २ फाल्गुन २०७७, आईतवार ०८:०७ प्रकाशित
  • Nabintech