१२ बैशाख २०८१, बुधबार
जनयुद्धदेखी गणतन्त्रसम्मका मुख्य घटनाक्रमहरु
  • काँचुली खबर

पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले मलाई गरेको विश्वासप्रति गर्व महसुस भएको थियो ।’ बिहानपख २ बजे माओवादीहरुले आठबिसकोट चौकीबाट हतियार तथा बन्दोबस्दीका समान कब्जामा लिएका थिए ।

नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।

बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।

यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।

१० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो ।

माओवादीले आफूहरुसँग ३२ हजार सेना रहेको दाबी गर्दथ्यो । यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण ग¥यो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए । प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए । १ हजार ४ सय २१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए ।

शान्ति प्रक्रियामा आएसँगै बिभिन्न टुटफुटबाट गुज्रिएको माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो ।

प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै नेकपा पनि दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड-माधव नेपालले गरेका छन् ।

माओवादी जनयुद्धको लक्ष्य र उद्देश्य पूरा नगरी पार्टी नेतृत्व सत्ताको खेलमा अलमलिएको भन्दै कतिपय पूर्वमाओवादीहरु असन्तुष्ट छन् ।

 

माओवादी जनयुद्धको सुरुवातदेखि गणतन्त्र स्थापनासम्मका मुख्य मुख्य घटनाक्रम

२०५२ साल

फागुन १ : नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा ।

फागुन ६ : नेकपा माओवादीका महामन्त्री क. प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीहरूको जिम्मेवारी स्वीकार ।

फागुन १४ : गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।

फागुन १५ : रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।

२०५३ साल

असार : माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ !’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।

वैशाख २४ : रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।

पुस १९ : रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको मृत्यु ।

२०५४ साल

असार : माओवादीको केन्द्रीय समितिको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।

भदौ : तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।

माघ २२ : धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैङ्क लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।

फागुन २४ : रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।

चैत ४ : गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।

२०५५ साल

वैशाख : तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’ को किलो शेरा टू नामक क्रूर अपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको हत्या ।

भदौ : नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ !’ भने मूल नारा तय ।

कात्तिक १० : छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।

पुस १८ : २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारहरूद्वारा सम्पूर्ण हतियारसहित कब्जा । सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथि लुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।

फागुन १९ : दाङको चिराघाट प्रहरी चौकी कब्जा ।

चैत ५ : काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरूको प्रहरीले आगो लगाएर र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।

२०५६ साल

वैशाख १९ : रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।

जेठ ६ : नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि सरकारले नागरिक बेपत्ता पार्न सुरु गर्यो ।

जेठ ३१ : जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।

भदौ २३ : नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘क. वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।

असोज ५ : रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।

फागुन ६ : रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।

चैत २१ : रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।

चैत अन्त्य : गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।

२०५७ साल

असार १९ : जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।

भदौ ७ : नवलपरासीको धवाडी इप्रका कब्जा ।

भदौ १४ : झापा महवारी इप्रका कब्जा ।

असोज ८ : पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा ।

असोज १० : लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।

कात्तिक २० : रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।

पुस ५ : नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।

फागुन : नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँ ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।

चैत १७ : गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।

चैत १९ : रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।

२०५८ साल

जेठ ८ : ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।

जेठ १९ : दरबार हत्याकाण्ड, राजा वीरेन्द्रको वंशनास ।

जेठ २० : माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।

जेठ २२ : ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।

असार २५ : लमजुङको विचौर प्रहरी चौकी कब्जा ।

असार २८ : रोल्पाको होलेरी चौकीमाथि आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेना परिचालनको प्रयास ।

असार ३० : रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।

साउन ६ : तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।

साउन ७ : बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।

साउन ४ : माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।

साउन ८ : सरकारद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।

साउन १२ : कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादी वार्ता टोली सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८-२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।

साउन ३१ : विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।

कात्तिक २८ : तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।

मङ्सिर ६ : माओवादी अध्यक्षद्वारा सरकारले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह ।

मङ्सिर ८ : जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।

मङ्सिर ८ : जनसेनाद्वारा दाङको सदरमुकाम घोराही र स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।

मङ्सिर १० : पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।

मङ्सिर ११ : देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा छापा मारेर ११ जना पत्रकार गिरफ्तार ।

मङ्सिर २२ : शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।

फागुन ४ : जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल

वैशाख १९ : रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भिडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा ।

जेठ ८ : देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ गते निर्धारण ।

जेठ १३ : जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी हत्या ।

असार २ : माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा ।

असार २८ : भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।

भदौ २३ : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।

असोज १७ : संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।

असोज १८ : ज्ञानेन्द्रद्वारा देउवा सरकार विघटन । कार्यकारिणी अधिकार कब्जा ।

कात्तिक २८ : कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।

मङ्सिर १८ : लाहानमा रहेको इप्रका र बैङ्क कब्जा ।

माघ १२ : सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र पत्नी नुडुपको माओवादीद्वारा ललितपुरमा हत्या ।

माघ १५ : सरकार र माओवादी दुवै पक्षबाट युद्धविरामको घोषणा ।

माघ १८ : बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।

माघ २९ : युद्धविराम आचार संहिता जारी ।

चैत १५ : राजधानीमा पत्रकार सम्मेलन गरी माओवादी वार्ता टोली सार्वजनिक ।

चैत २० : काठमाडौँको खुलामन्चमा माओवादीको विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।

२०६० साल

वैशाख १४ : दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।

साउन ३२ : सरकार र माओवादीबीच तेस्रो चरणको वार्ता दाङको हापुरेमा । सोही दिन रामेछापको दोरम्बामा शाही सेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या । शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमति तोडिएकाले वार्ता प्रभावित ।

भदौ १० : नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको हत्या ।

कात्तिक १० : गोरखाको च्याङ्लीमा माओवादीले थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।

कात्तिक ११ : पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।

कात्तिक १६ : पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।

कात्तिक २१ : नेकपा माओवादी अध्यक्ष प्रचण्डद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।

कात्तिक २९ : त्रिभुवन राजपथ खण्डमा माओवादीले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।

मङ्सिर : नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।

पुस २ : माओवादीले कपिलवस्तुको धानखोलामा थापेको एम्बुसमा परी लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।

पुस २५ : सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार थवाङमा घोषणा ।

माघ २ : तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।

माघ ५ : खड्गबहादुर विकको अध्यक्षतामा भेरी-कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।

माघ १५ : सेती-महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।

माघ १६ : तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।

माघ १९ : किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।

माघ १० : मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।

माघ : भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।

फागुन १९ : जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।

चैत ७ : जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।

चैत १३ : नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज मोहन वैद्य (किरण) भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।

चैत २२ : धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।

चैत २५ : पशुपतिनगर इप्रका कब्जा ।

२०६१ साल

वैशाख ३१ : माओवादी केन्द्रीय सदस्य तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा मृत्यु ।

जेठ ६ : डोटीको घन्टेश्वरमा जनसेना-शाहीसेना भिडन्त । डेढ दर्जन शाही सेनाको मृत्यु ।

असार ३ : अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल ।

साउन/भदौ : माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ !’ भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।

भदौ २० : माओवादी केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।

मङ्सिर १ : जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक र त्यसमा रहेका हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।

मङ्सिर २ : बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।

मङ्सिर ५ : कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाहीसेनाको रेन्जर बटालियनमाथि हमला, १९ को मृत्यु । ६ थान एम १६ सहितका हतियार कब्जा ।

मङ्सिर ५ : माओवादीद्वारा रोल्पाको नुवागाउँ-थवाङ-चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।

पुस ३ : काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा ।

पुस ७ : कर्णाली चिसापानीमा १५ शाहीसेनाको हत्या ।

पुस १७ : धनकुटाको सेउतीखोलामा एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।

माघ १९ : राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवादी अध्यक्ष प्रचण्डको अपिल ।

माघ २०-२२ : शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।

फागुन १ : माओवादी अध्यक्ष प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।

चैत २०-३० : माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।

२०६२ वैशाख

वैशाख २६ : जनसेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।

जेठ २७ : काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु ।

असार ८ : जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण, ८ जनाको मृत्यु ।

असार ११ : जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण, लेफ्टिनेन्टसहित १९ जनाको मृत्यु ।

साउन २३ : कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।

असोज १८ : नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।

मङ्सिर ७ : सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।

मङ्सिर १३ : माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।

मङ्सिर १४ : शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘क. सुनिल’ को मृत्यु ।

मङ्सिर १७ : माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।

पुस १८ : माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।

माघ १ : जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।

माघ ८ : माओवादी पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।

माघ २६ : माओवादी र सात दलको बहिष्कारका कारण नगर निर्वाचन असफल ।

माघ २७ : जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।

चैत २४ : सात दल-माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।

२०६३ साल

वैशाख ११ : व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुन:स्थापना ।

जेठ ४ : पुन:स्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।

जेठ १२ : नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।

असार २ : नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा सार्वजनिक, आठबुँदे सहमति ।

साउन २४ : सरकार-माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।

कात्तिक २२ : सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ : सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, माओवादी जनयुद्ध समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।

माघ १ : नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।

चैत १८ : नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

२०६४ साल

साउन १८ : नेकपा माओवादीको पाँचौँ विस्तारित बैठक साउन १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आयोजना । जिल्ला सचिवालय सदस्यदेखि माथिकाले भाग लिएको उक्त बैठकमा माओवादी अध्यक्ष प्रचण्डद्वारा ‘नयाँ वैचारिक स्पष्टता र नयाँ एकता कायम गर्न एकजुट होऔँ’ शीर्षकको २४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत । उक्त दस्तावेजमाथि १९ गतेदेखि २३ गतेसम्म छलफल गरी आवश्यक संशोधनसहित पारित । उक्त बैठकले संविधानसभा निर्वाचन अगाडि गोलमेच सम्मेलन, गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जोड दिने निर्णय ।

भदौ १ : माओवादी र सातदलका शीर्षस्थ नेताहरूबीच संयुक्त बैठक । संविधानसभा निर्वाचनमा जानुअगाडि नै गणतन्त्र घोषणा गर्नुपर्ने माओवादीको अडान ।

भदौ ७ : माओवादी पार्टी केन्द्रद्वारा मुलुकका सबै क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रही बृहत् अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना ।

भदौ १६ : संविधानसभा निर्वाचन बिथोल्न अज्ञात समूहद्वारा काठमाडौँको बालाजु, सुन्धारा र त्रिपुरेश्वरमा बम विस्फोट ।

असोज १ : सरकार, सात राजनीतिक दल गम्भीर नबनेको र आफूले अघि सारेका २२ बुँदे मागपत्र उपर कुनै सुनुवाइ नभएको भन्दै माओवादी संयुक्त सरकारबाट हटी सोही दिन खुलामञ्चमा जनसभा । शान्तिपूर्ण आन्दोलनमा अगाडि बढेको घोषणा ।

असोज ६ : कांग्रेसको महासमिति बैठकद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने औपचारिक निर्णय । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बिच पार्टी एकता ।

असोज १३ : माओवादीद्वारा देशव्यापी प्रदर्शन गरे पनि देशभरका निर्वाचन कार्यालय घेराऊ गर्ने कार्यक्रम जनप्रदर्शनमा परिणत ।

मङ्सिर १५ : राष्ट्रियता, गणतन्त्र र संविधानसभा निर्वाचनको सन्देश छर्दै योङ कम्युनिस्ट लिग (वाइसीएल) द्वारा मेची-महाकाली अभियान सुरु ।

पुस ८ : माओवादी र संसदवादी राजनीतिक दलहरूबीच विभिन्न विषयमा २३ बुँदे सहमति । उक्त सहमतिअनुसार अन्तरिम संविधान- २०६३ मा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने र यसको कार्यान्वयन चैत मसान्तभित्र हुने संविधानसभा निर्वाचनले गर्ने निर्णय । प्रत्यक्ष निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गत २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीअन्तर्गत ३३५ सदस्य सङ्ख्या र प्रधानमन्त्रीबाट मनोनित हुने २६ सङ्ख्या किटान ।

पुस ११ : प्रधानसेनापति रुक्माङ्गत कटुवालले पटक-पटक सैनिक ‘कु’, डेमोक्रेटिक ‘कु’ आदिको धम्की दिएपछि माओवादी अध्यक्षद्वारा नेपाल लेखक सङ्घद्वारा आयोजित साहित्यिक विचार गोष्ठीमा बोल्दै सैनिक ‘कु’ गरिए जनमुक्ति सेनाले विद्रोह गरी एके-४७ हतियार बोकेर लड्ने चेतावनी ।

पुस २१ : काभ्रे जिल्लाको नमोबुद्ध फूलबारी रिसोर्टमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु ।

पुस २७ : माओवादी, कांग्रेस र एमालेको बैठकद्वारा चैत २८ गते संविधानसभा निर्वाचन गर्ने निर्णय ।

२०६५ साल

वैशाख ३० : राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा जेठ १५ गते संविधानसभाको पहिलो बैठक आह्वान ।

जेठ १४ : संविधानसभा सदस्यद्वारा शपथग्रहण ।

जेठ १५ : ऐतिहासिक संविधानसभाको पहिलो बैठक, नेपाललाई औपचारिकरूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन ।

जेठ २९ : ज्ञानेन्द्र शाह नारायणहिटीमा पत्रकार सम्मेलन आयोजना गर्दै नागार्जुन दरबार प्रस्थान ।

  • १ फाल्गुन २०७७, शनिबार १२:२६ प्रकाशित
  • Nabintech