१३ बैशाख २०८१, बिहीबार
साँसद अथकद्धारा जय किसान माविको भवन उद्घाटन
  • काँचुली खबर

बाँकेको नरैनापुर गाउँपालिका ६ भोजपुरमा रहेको जय किसान माविको ६ कोठे नयाँ भवन उद्घाटन गरीएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको दुई तले पक्की भवनको शुक्रबार बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले उद्घाटन गरेका हुन ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उक्त विद्यालयको भौतिक संरचना र विद्यालय भवन निर्माणकालागि २ करोड रुपौयाँ उपलब्ध गराएको साँसद अथकले जानकारी दिए । विद्यालयको कम्पाउण्ड घेरबार र पक्की भवन निर्माणकालागि बिभिन्न चरणमा उक्त रकम बिनियोजन गरीएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य समेत रहेका अथकले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर योजना तर्जुमा गरिएको बताए । गुणस्तरीय शिक्षाले नै दक्ष जनशक्ति उत्पादन हुनेतर्फ आफु सजग रहेको उल्लेख गर्दै साँसद अथकले आफ्नो निर्वाचन क्षेत्रका सबै विद्यालयलाई टिन र खरको छानामुक्त गर्ने अभियान संचालन गरीएको बताए ।

स्थानिय स्तरबाटै क्षमतावान र दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयहरुको समग्र विकासकालागि आफु लागिपरेको साँसद अथकको भनाई थियो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुर गाँउपालिकाको समग्र विकासमा साँसद अथकले पुर्याएको भुमिकाको खुलेर प्रशंसा गरेका थिए । विद्युतिकरण, सडक र शिक्षा क्षेत्रमा साँसद अथक मार्फत ठुलो मात्रामा केन्द्रिय बजेट बिनियोजन भएको भन्दै शाहले खुसी ब्यक्त गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजेन्द्र कुमार यादवले सहरी विकास मन्त्रालय मार्फत विद्यालयमा ४ करोडको लागतमा आपतकालिन सुरक्षित स्थान र अन्य संरचनाहरु समेत निर्माण गर्न लागिएको बताए ।

कार्यक्रममा विद्यालयमा माध्यामिक तह (११ र १२) संचालनार्थ सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरीएको थियो । १० कक्षासम्म अध्यापन हुँदै आएको उक्त विद्यालयको स्तररोन्नती गरी ११ र १२ कक्षा समेत संचालन गर्ने तयारी गरीएको छ । सोही क्रममा विद्यालयलाई आर्थिक र भौतिक रुपमा सहयोग गरेका ब्यक्तिहरुलाई साँसद अथकले खादा तथा सम्मानपत्रद्धारा सम्मानित गरेका थिए ।

  • ३० माघ २०७७, शुक्रबार २१:१५ प्रकाशित
  • Nabintech