आर्ट ग्यालरी : ५० हजारमा बिक्यो राणाको पेन्टिङ
  • काँचुली खबर

बाँकेको नेपालगन्जमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा। धवल शम्शेर राणा र मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणाले बिहीबार संयुक्त रुपमा नेपालगन्जको होटल वाटिकामा ‘वाटिका आर्ट ग्यालरी’को उद्घाटन गरेका हुन् ।

होटलको प्रबन्ध निर्देशक समेत रहेकी कलाकार राणाले ग्यालरी सञ्चालनको खुसी साँट्दै आफ्नो पेन्टिङ करियरबारे बेलिविस्तार गरिन् ।

‘पहिलो पटक बेच्दा १५ हजार रुपैयाँ मात्र मूल्य थियो । अहिले यसको मूल्य पाँच गुणा बढी भएको छ’, मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणाले आफूलाई मन परेको एउटै पेन्टिङ ११ पटक बनाएको अनुभव सुनाइन्, ‘दोस्रो पटक ३० हजार, त्यसपछि ४५ हजार हुँदै अहिले ७५ हजार पुगेको छ ।’

‘वाटिका आर्ट ग्यालरी’मा राखिएको सेतो, गोल्डेन र खैरो रंग प्रयोग गरिएको उनको ‘गार्डन अफ इभ’ नामको पेन्टिङ देखाउँदै उनले भनिन्, ‘मोर्डन आर्टको हरेक पेन्टिङ ओर्जिनल हुन्छ । एक पटक एउटा मुडमा बनाएको पेन्टिङ अर्को पटक दुरुस्तै बनाउन गाह्रो हुन्छ । मलाई मन पर्ने र कलाप्रेमीको रोजाइको यो पेन्टिङ ११ पटकसम्म बनाएकी छु ।’

स्पेनमा आर्ट सम्बन्धी अध्ययन गरेर फर्केकी राणा विगत ८/९ वर्षदेखि आर्ट क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील छिन् । उनले आफ्ना झन्डै तीन सय कलाकृति नेपालका विभिन्न सहर, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारतलगायतका देशमा विक्री भएको बताइन् ।

कम्तीमा ५ हजारदेखि बढीमा ४ लाख ५० हजार रुपैयाँमा पेन्टिङ बेचेकी छन् । उनले घोडा आकृतिको एउटैपेन्टिङ काठमाडौंमा एउटा बैंकको सिइयोलाई ४ लाख ५० हजार रुपैयाँमा बेचेको बताइन् । ग्यालरी उद्घाटनकै दिन राणाको मयुर प्वाँख आकृतिको कलाकृति नेपाल प्रहरीका एसएसपी सौरभ शम्शेर राणाले ५० हजार रुपैयाँमा खरिद गरेका थिए ।

  • २९ माघ २०७७, बिहीबार १६:४३ प्रकाशित
  • Nabintech