७ बैशाख २०८१, शुक्रबार
केपी ओली तानाशाह हुन् : गोविन्द केसी
  • काँचुली खबर

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘केपी ओली तानाशाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’

उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । ‘अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद विघटन उहाँहरुले बदर गर्नुहुनेछ’ केसीले भने, ‘ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्‍या गर्ने उनी हत्यारा हुन् ।

केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

उनले चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्न पनि माग गरेका छन् । माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।

  • २९ माघ २०७७, बिहीबार १४:४६ प्रकाशित
  • Nabintech