१३ बैशाख २०८१, बिहीबार
रूपैडिहा घुम्न सरकारी गाडीको दुरुपयोग !
  • काँचुली खबर

पछिल्लो समय सरकारी सवारीसाधनको दुरूपयोग हुने क्रम बढ्दै गएको छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौंमा खरिद गरिएका सरकारी सवारी साधनहरू कार्यालयका उच्च अधिकारी र प्रहरी अधिकारीले व्यक्तिगत र घरायासी प्रयोजनमा प्रयोग गर्दा यस्तो दुरूपयोग बढेको हो ।

राज्यको कोष संरक्षण गर्ने अभिभारा बोकेका सुरक्षा निकायका उच्च अधिकारी नै कोष दोहनमा सक्रिय देखिएका छन् । मानौ तिनिहरुलाई नियमन गर्ने निकाय नै छैन । खाजा र नास्ता खानका मात्रै नभई करिब ५/७ सय किलोमिटर टाढाको यात्रामा पनि सरकारी सवारी साधनको दुरूपयोग भैरहेको छ । त्यो पनि विदाको दिन ।

शनिबार (२४) गते यति लामो दुरी पार गरेर भैरहवाबाट सरकारी गाडी प्रयोग गरि प्रहरीका एसएसपी परिवार सहित नेपालगन्ज हुँदै भारतीय बजार रूपैडिहा बजार पुगेर फर्किका छन ।

उनले रूपैडिहामा घरयासी वा व्यक्ति सामान खरिद गरेका छन । तर, भैरहवाबाट उनी आएको प्रहरीको बा २ झ १०३ नम्बरको गाडी भने नेपाल भारत सिमा क्षेत्र जमुनाहमा सडक किनारमै पार्किङ गरिएको थियो ।

शनिबार दिउँसो जमुनाहमा भेटिएको उक्त गाडी बारे खोजी गर्दा त्यहाँ रहेका एक घुमुवा प्रहरीले सो गाडी भैरहवाबाट आएको र यसमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सुरक्षा गार्डका एसएसपी सहितको टीम रहेको बताए ।

उक्त गाडी शनिबारका दिन त्यो पनि भैरहवादेखि रूपैडियासम्म प्रयोगमा ल्याएर ‘एसएसपी साब’ ले सरकारी सम्पतिको चरम दुरूपयोग गरेको देखिएको छ ।

सरकारले आफ्ना कर्मचारीलाई कार्यालय प्रयोजनका लागि सवारी साधन उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कार्यालय समयमा कार्यालय प्रयोजनका लागि ती सवारी साधन प्रयोग गर्न पाइन्छ । तर, यहाँ कर्मचारीहरूले आफ्नो नितान्त व्याक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग गरिरहेका छन ।

यो एउटा पछिल्लो उदाहरण मात्र हो । शनिबार दिउँसो नै नेपालगन्जस्थित संघीय प्रहरी इकाईको सरकारी गाडी पनि जमुनाह नाका पुगेको थियो । उक्त गाडी ईकाईका प्रहरी निरिक्षकले लगेर गएको खुलेको छ । उनले संघीय प्रहरी कार्यालयको बा १ झ ७२९९ नम्बरको सेतो गाडी शनिबारका दिन प्रयोग गरेका थिए ।

सरकारी चालक सहित उनले घरायसी सामान खरिदका लागि उक्त गाडी प्रयोग गरेको खुलेको छ । तर, भैरहवाबाट आएको एसएसपीको र संघीय प्रहरीको गाडीले शनिबार चलाउनका लागि सम्बन्धीत निकायबाट पास भने लिएका थिएनन ।

नियमअनुसार सरकारी गाडी सार्वजनिक विदाका दिन वा कार्यालय समयपछि प्रयोग गर्दा सम्बन्धी जिल्लाको सिडिओ अफिसबाट अनुमति लिनुपर्छ । कि त सुरक्षा निकायको गाडीमसावारी व्यक्ति सुरक्षा पोशाखमा हुनुपर्छ । तर, शनिबार जमुनाहमा भेटिएका दुवै गाडीमा रहेका सुरक्षा अधिकार सादा पोशाखमा थिए ।

पहुँचवालाले अनावश्यक रूपमा यसरी गाडी प्रयोग गरेर राज्य कोषमा आर्थिक भार थोपारिरहेका छन् । यसरी सरकारी सम्पत्तिको दुरूपयोग गर्दा उनीहरूले उक्त सवारीमा लाग्ने तेल भने सम्बन्धित कार्यालयकै कुपनबाट प्रयोग गरिरहेका हुन्छन ।

  • २४ माघ २०७७, शनिबार १७:५२ प्रकाशित
  • Nabintech