गर्भमै तुहिय बाँकेका दुई चक्रपथ योजना
  • काँचुली खबर

नेपालगन्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न ‘कुभु बोधमार्ग’ नामकरण गरी निर्माण अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ । सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको उक्त योजना निर्माणमा अहिले कसैले पनि चासो देखाएका छैनन् ।

यो योजना अलपत्र परिरहेको अवस्थामा खजुरामा नयाँ चक्रपथ निर्माणको महत्वकाक्षी योजना अघि सारिएको थियो । तर, उक्त योजना अहिले पनि अघि बढ्न सकेको देखिदैन । नेपालगन्जसँगै खजुराको चक्रपथ योजना पनि गर्भमै तुहिएको छ ।

करीब साढे १७ करोड बजेट विनियोजन भइसकेको नेपालगन्जको योजना अलपत्र छ । पाँच वर्षअघि सर्भे भएको चक्रपथ जमीनको अभाव र सिक्टाको नहरका कारण बन्न नसक्दा नेपालगञ्जवासीको चक्रपथमा गाडी गुडाउने सपना अधुरै रहेको छ ।

चक्रपथ निर्माणका लागि २०७१ सालमा पहिलो पटक सरकारले २ करोड २० लाख बजेट विनियोजन गरेको थियो । बढ्दो जनसङ्ख्यालाई ध्यान दिएर नेपालगञ्जमा चक्रपथ बनाउने योजनालाई रातो किताबमै पार्ने र बजेट छुट्याउने काम भए पनि कार्यान्वयनका लागि अहिलेसम्म पहल भएको छैन ।

उक्त समयमा चक्रपथ निर्माण कार्य कसरी अगाडि बढाउने भन्ने कुराको निक्र्यौल गर्न विभिन्न सरोकारवाला निकायका इन्जिनीयर सम्मिलित पाँच सदस्यीय प्राविधिक समितिसमेत गठन गरिएको थियो ।

उक्त समितिले योजनाको रेखाङ्कनलगायत लागत अनुमानसहितको प्रतिवेदन बुझाएपछि काम तीव्र रुपमा अगाडि बढाउने आश्वासन दिइएको थियो तर, भनिएअनुसार काम हुन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा संघीय सरकारले नै चासो नदेखाएमा चक्रपथ बन्न सम्भव नभएको बताउँछन । २०० करोड लाग्ने अनुमान गरिएको छ, केन्द्रले २ करोड विनियोजन गर्छ, अनि कसरी चक्रपथ सम्भव हुन्छ उनले भने ‘अनुमानित लागतको कम्तीमा पनि ५० प्रतिशत केन्द्र सरकारले विनियोजन गर्नुपर्छ । चक्रपथ निर्माणका लागि सिक्टा सिँचाइ आयोजना बाधक रहेको छ ।’

पाँच वर्षअघि नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. २० मनिकापुर देखि सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखि जानकी गाउँपालिकाको इन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी चक्रपथको सर्भे गरिएको थियो ।

यसअघि बसेको खजुरा गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा चक्रपथ निर्माण गर्ने निर्णय गरेको थियो । तर तत्कािलन अवस्थामे स्थानीयले कतै कार्यपालिकाको निर्णय गर्भ मै तुहिने त होइन रु प्रश्न गर्दै आशंका गरेका थिए । अहिले स्थानीयको आशंका वास्तविकतामा परिणत हुने निश्चित देखिएको छ ।

चक्रपथले यहाँको समग्र विकासको ढोका खुल्ने अपेक्षा गरिएको थियो । चक्रपथ तराई मधेश सडक कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएकाले समस्या नहुने गाउँपालिकाको दावी गरेको थियो । गाउँपालिकाले अघि सारेका योजना मध्ये अधिकाशं योजना अहिले पनि अधुरै अपुरै र अलपत्र देखिएका छन । जसमा खजुरा चक्रपथ पनि एउटा अलपत्र भएकै योजना हो ।

खजुरामा चक्रपथ निर्माण गर्दा कुनै अवरोध नहुने विश्वास गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले त्यहि बेला बताएका थिए । तर, अहिले पनि प्रभावकारी काम अघि बढेको छैन ।

वार्षिक १ करोड बजेट विनियोजन हुने र यसमा १० प्रतिशत गाउँपालिकाले लगानी गर्ने प्रावधानअनुसार चक्रपथ निर्माण अघि बढाइने थियो । खजुरामा बन्ने चक्रपथले राधापुरदेखि रनियापुर, मानखोल, बैजनाथ हुँदै जानकी गाउँपालिकालाई समेत जोड्ने भनिएको छ ।

यो वा त्यो वहानामा विगत लामो सयमदेखि बाँकेमा रहेका नेपालगन्ज चक्रपथ आयोजना र पछिल्लो समय नेपालगन्जको सिको गर्दै अघि बढेको खजुरा चक्रपथ योजना अहिले पनि निर्माण हुने तयारीमा देखिएका छैनन् । यसले यी दुवै योजना अलपत्र छन । वेवारिसे छन । असफल भैसकेका छन । नागरिकले चक्रपथको सपना देखे तर यसको प्रयोग गर्न सकेनन् यो बिडम्बना हो ।

  • २४ माघ २०७७, शनिबार ०९:०४ प्रकाशित
  • Nabintech