राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन् ।
आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका हुन् ।
गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भएपनि हालसम्म भुक्तानी नदिएको उनीहरुले भनाइ छ ।
एक श्रमिक प्रविन यादवले भने, ‘रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई भएन । आखिर आन्दोलनमै उत्रिनु बाहेक विकल्प छैन ।’
बक्यौता रकम भुक्तानी गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले श्रमिकका समस्याप्रति बेवास्ता गर्दै खेलावाड गरिरहेको श्रमिकहरुको गुनासो छ ।
उनीहरुले आयोजनाको कार्यालय अगाडि सोमबारदेखि चरणबद्ध हड्ताल शुरु गरेका हुन् ।
इञ्जिनियर प्रदिप खनालले ११ महिनासम्म पनि रकम नपाउँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । उनले भने, ‘काम त प्रभावित भएको छैन । यद्यपी, हामीले आन्दोलन भने जारी राखेका छौँ ।’
२० माघ २०७७, मंगलवार १७:५७ प्रकाशित