८ बैशाख २०८१, शनिबार
कपिलवस्तु र कोहलपुरमा देशकै ठूलो सौर्य ऊर्जा
  • काँचुली खबर

नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५/१२५ मेगावटका दुई आयोजना गरेर त्यस बराबरको सोलार प्लान्ट बनाउन लागिएको हो । नेपालको हकमा यो हालसम्मकै ठूलो क्षमताको सौर्य ऊर्जा आयोजना हो ।

उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्न लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी नामक कम्पनीसँग सम्झौता भएको छ । मंगलवार लगानी बोर्डको कार्यालयमा यससम्बन्धी सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । लगानी बोर्डबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ छियाङले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार उक्त दुई आयोजनाबाट २०/२० मेगावाटका दरले ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्ट पनि बनाउने गरी अध्ययन गरिनेछ । आयोजनाको कुल लागत १८ करोड ९५ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।

कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महीनाभित्र आयोजनाको डीएफएसआर तयारी गरी लगानी बोर्डलाई बुझाउनुपर्ने छ । गत असार ५ गते बसेको लगानी बोर्डको बैठकले उक्त कम्पनीलाई डीएफआरएस तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

  • १४ माघ २०७७, बुधबार १०:३३ प्रकाशित
  • Nabintech