१३ बैशाख २०८१, बिहीबार
नेकपा फुटाउन नमिल्ने निर्वाचन आयोगको निष्कर्ष
  • काँचुली खबर

निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको दावी अस्वीकार गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ ।

‘उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन’ उनले भने, ‘त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ ।’

उनले दुवै पक्षलाई छलफलमा भएको निर्णयको पत्र पठाइने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा फुटिसकेको नेकपा भने आयोगको यो निर्णयसँगै कानूनी रुपमा अझै पनि एउटै पार्टीका रुपमा देखिएको छ । पुस ५ पछि नेकपा ओली पक्ष र प्रचण्ड(माधव पक्ष गरी २ भागमा राजनीतिक रूपमा विभाजित छ ।

  • ११ माघ २०७७, आईतवार २१:२९ प्रकाशित
  • Nabintech