११ बैशाख २०८१, मंगलवार
जिन्दगीभरको आदर्शलाई गाली गर्दै कसरी निदाउँछन् ओली पक्षमा लागेका माओवादी नेताहरु !
  • काँचुली खबर

जीवनभर जुन सिद्धान्त र व्यक्तिलाई आदर्श मानियो त्यसैलाई गाली गरेर, सरापेर दिन विताउन कति कठिन होला ।

१ महिना अघिसम्म जसलाई महान भनियो उसलाई अहिले रातारात तुच्छ सावित गर्न कति कठिन पर्ला । यही धर्म संकटबाट गुज्रिरहेका छन् मन्त्री पाउनकै लागि जिन्दगीभरको राजनीतिक साख दाउमा लगाउन तयार हुँदै केपी ओली पक्षमा लागेका पूर्वमाओवादीका नेताहरु ।

ओली पक्षमा लागेको दिनदेखि माओवादीमा रहँदा आफ्ना श्रद्धेय भन्ने गरेका र पार्टी एकीकरणपछि पनि कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाललाई प्रचण्डलाई मुखमा आएको गाली गर्ने जिम्मेवारी दिइएको छ ।

दिनमा एक पटक प्रचण्डलाई मुखमा आएको गाली नगरे मन्त्री पद नै असुरक्षित हुने सन्देश समेत उनीहरुलाई दिइएको आभाष हुन्छ ।

तत्कालीन एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा अहिले दुई समूहमा भएपनि विभाजनले कानूनी वैधता पाएको छैन । प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’लाई ‘कुहिएको फर्सी’ लगायतका गाली गर्न थालेको धैरै भएसकेको छ ।

प्रचण्डलाई गाली गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पद सुरक्षित गरेका पूर्वमाओवादीका टोप बहादुर रायमाझीले एक सहकर्मी नेतासँग, ‘दिनभरि कार्यक्रममा केपी ओली समूहका पक्षमा, प्रचण्डविरुद्ध बोल्छु । राती सुत्न खोज्यो, निद्रै लाग्दैन । कमरेड’, भनेको अभिव्यक्ति समेत सार्वजनिक भएको छ ।

साच्चिकै ओली पक्षमा लागेका पूर्वमाओवादीहरुलाई निद्रा लाग्ने अवस्था छैन । आफूहरुले रगत र पसिना बगाएको ‘जनयुद्ध’लाई ओलीले उपहास गर्न थालेपछि रायमाझीमात्र होइन सबै नेताहरूलाई ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ सावित भएको छ ।

ओली समूहमा लागेका माओवादी नेता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि प्रधानमन्त्रीज्यूले जनयुद्धलाई कुहिएको फर्सी भनेको कुरामा असहमति जनाएको दाबी गरेका छन् । तर खुलेर बोल्न सकेका छैनन् ।

सार्वजनिकरुपमा एक्लिएको ओली समूहमा सक्रियरुपमा लागेका पूर्वमाओवादी नेताहरूमा उकुसमुकुस बढिरहेको छ । उनीहरुलाई यसरी भाषण गर्ने र यो यो कुरा भन्ने भनेर समेत प्रधानमन्त्री केपी ओलीको सचिवालयबाट सम्झाउने गरिएको श्रोतले खुलासा गरेको छ ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले त एक सार्वजनिक कार्यक्रममा ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड’ भनेरै बोलेका थिए भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिलो पटक ओली पक्षको कार्यक्रममा सहभागी भएको पुस ९ गतेको बालुवाटारको भेलामा गरेको भाषण पनि इतर पक्षका लागि तयार गरेको बताइन्छ । पूर्वमाओवादी समूहका नेताहरूले ओलीको ‘स्पिरिट’लाई समात्न नसकेको भन्दै प्रधानमन्त्री कार्यालयबाट निरन्तर असन्तुष्टि जनाउने गरिएको जानकारी जनादेशले प्राप्त गरेको छ ।

पूर्वमाओवादी समूहका नेताहरुलाई नै प्रचण्ड-नेपाल पक्षको विरोधमा बोल्न लगाएर ओली थप बलियो हुने रणनीतिमा लागेको एकथरीको बुझाई छ ।

शनिबारमात्र प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग बालुवाटारमा छलफल गरेका छन् । तत्कालीन जनमुक्ति सेनाका विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनाका कमाण्डरहरुलाई फकाउँदै पूर्वजनमुक्ति सेनालाई नेतृत्वले पटकपटक धोका दिएको भन्दै उनीहरुको समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर पूर्वमाओवादी नेता र पूर्वलडाकुहरुलाई प्रचण्डको एउटै डाइलग काफी छ ।

शुक्रबार आफ्नो समूहको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्द काठमाडौँमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘कालिबहादुर खाम खोई अरे ? त्यो कालिबहादुर खाम बिचरा आफैले केही गरेको त होईन । उसको मुद्दा ठिक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालिबहादुर खाम तपाईलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पुर्याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दुध चुसेर भएन बाको घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरु भ्रमित नहुनुहोला ।’

प्रचण्डले भनेका छन्, ‘म तपाई जनसमुदायलाई साक्षि राखेर के प्रतिज्ञा गर्न चाहान्छु भने अब हामी त्यस्तो केपी प्रवृतिजस्तो प्रवृतिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने अनि उनको प्रवृतिलाई अगाडी बढाउन त्यस्तो खालको भुल अब हामि गर्ने छैनौँ । म प्रतिबद्दता र संकल्प गर्न चाहान्छु ।’

जनादेश विश्लेषण

  • ११ माघ २०७७, आईतवार १४:०४ प्रकाशित
  • Nabintech