१२ बैशाख २०८१, बुधबार
गल्ती सच्याउन जनतामाझ आएका छौं : प्रचण्ड
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र ‘प्रतिगामी’ कदमको संज्ञा दिँदै सत्तारुढ पार्टीकै एक पक्ष यतिबेला सडकमा रहेको छ । आज राजधानीमा आयोजित प्रदर्शनमा विभिन्न स्थानमा जुलुस निस्केर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षमा पनि केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । विरोध सभामा प्रचण्डले तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको बताएका हुन् ।

उनले भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं ।’ प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए । आफूहरूले ओली प्रवृत्ति सच्याउन नसकेको उनको भनाइ थियो । ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए ।

उनले केपी ओलीलाई मात्रै दोषी देखाएर आफूहरु चोखो नहुने पनि बताए । ओलीलाई तीन वर्षसम्म पनि सच्याउन नसक्नु आफूहरुको कमजोरी भएको उनको भनाई छ । प्रचण्डले भने, ‘ओलीलाई दोषी देखाएर हामी चोखो हुन मिल्दैन । तीन वर्षसम्म पनि ओलीलाई सच्याउन नसक्नु हाम्रो कमजोरी हो । अब म तपाईंहरु समक्ष प्रतिवद्धता व्यक्त गर्छु यस्ता प्रवृत्तिप्रति उदार हुने गल्ती हामी गर्ने छैनौं ।’

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले शुक्रवारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताए । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’

ओ‌लीले संविधान मिचेर तानाशाही बनेको भन्दै उनको कदम कुनै पनि हालतमा सच्याउनुपर्ने माग गरे । त्यसका लागि आफ्नो समूहको आन्दोलन सशक्त हुनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको कम्युनिस्ट चरित्र क्षयीकरण हुँदै गरेको नेता नेपालको भनाइ छ । त्यही कारणले नेकपाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी अनुशासनमा कारबाही गरेको उनको भनाइ छ ।

नेपालले प्रधानमन्त्री ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाए । उनले हिट्लर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन् ।

उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायित्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन् ।’ उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताए ।

  • ९ माघ २०७७, शुक्रबार १७:०६ प्रकाशित
  • Nabintech