१२ बैशाख २०८१, बुधबार
गुरु भट्टराई : ओली गुटको साइबर सेनापति !
  • काँचुली खबर

आफ्ना गुनगान गाएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक बनाएका गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर सामाजिक संजालमा लेखन थालेका छन् ।

सामाजिक संजालमा उनले आफू ओली समुहको साइबर सेनाको सेनापति भएको समेत लेखेका छन् । यसअघि पनि निकै पटक सामाजिक संजालमा अनर्गल लेखेर चर्चा र बिबादमा तानिएका भट्टराईले फेसबुकमा फेरि प्रचण्ड(नेपाल समुहलाई लक्षित गर्दै तथानाम लेखेका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नामै किटान गरेर उनले अपशब्द लेख्दै पशुपतिमा गएर स्टल थाप्न र श्राद्ध गर्न भनेका छन् । त्यतिमात्र होइन उनले प्रचण्डलाई निचोरेर स्वर्ग पुग्ने नठान्न र उनलाई निचोर्दा मलमूत्र मात्रै आउने बताउँदै प्रचण्डको आचि ग्रहण गर्न तयार रहन माधव नेपाललाई उपदेश दिएका छन् ।

नेकपाका शीर्ष नेताहरूलाई तथानाम गाली र प्रधानमन्त्री ओली तथा बालुवाटार समूहको जय जयकार गर्दै सामाजिक सञ्जाल रंगाएवापत प्रधानमन्त्री ओलीले उनलाई रेल्वे कम्पनीमा नियुक्त गरेका थिए ।

भट्टराईको स्टाटसमा अर्को आश्चर्यको कुरा के छ भने उनी ओली पक्षले बनेको साइबर सेनाको सेनापति भएको आफैले घोषणा गरेका छन । केहिदिन अगाडी ओलीका प्रिय पात्र महेश बस्नेतले साइबर सेना बनाउने घोषणा गरेका थिए । त्यो स्टाटसको आधारमा महाप्रबन्धक भट्टराईलाई साइबर अपराधमा कारबाही अघि बढाउन नेकपाका नेताहरूले सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

नेकपाकै नेता वामदेव गौतमको सन्दर्भमा अध्यक्ष नेपाललाई जोडेर भट्टराईले लेखेका छन् ‘बाहुनकै छोरो हो, पशुपतिमा स्टल थाप्नुस्, दिनमा १०-१५ वटा श्राद्ध गर्ने मौका मिल्ला । माधव नेपालको राजनीति कमसेकम अब सकियो । यो साइबर सेनापति गुरु भट्टराईको ठोकुवा हो ।’

महाप्रबन्धक हुनुअघि पनि उनले यसैगरी प्रचण्ड-नेपाल समुहको हुर्मत लिनेगरी सामाजिक सञ्जालमा अपशब्द र अश्लिल भाषाको प्रयोग गर्दै आएका थिए ।

  • ४ माघ २०७७, आईतवार १६:३५ प्रकाशित
  • Nabintech