यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है ! किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ ।
नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू, उल्कापात, मङ्गल ग्रहमा अवतरण गर्न उडिरहेका लागेका दुईवटा अन्तरिक्ष यानहरू र अन्तरिक्ष अवलोकन गर्न नयाँ शक्तिशाली टेलिस्कोपजस्ता विषयहरूले यो वर्ष अरूभन्दा विशेष हुने अनुमान गरिएको छ ।
यो वर्ष पहिलो पटक देखिन लागेका केही दृश्यदेखि बेलाबखत देखिने अदभूत दृश्यहरू हेर्न पाइनेछ ।
१) बुध ग्रह
हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यसँग सबभन्दा नजिक दूरीमा रहेको ग्रह बुध तपाईँले कहिल्यै देख्नुभएको छैन भने ज्यानुअरी २४ का दिन राम्ररी हेर्न सक्नुहुनेछ ।
आँखाको ज्योति राम्रा भएकाहरूका लागि यो ग्रह पश्चिमी क्षितिजमा देखिनेछ तर बाइनोकुलरले हेर्ने हो भने झन् प्रस्ट हुनेछ ।
बुधले सूर्यको एक पटक परिक्रमा गर्न ८८ दिन लाग्छ । धेरैजसो समय हामी बुध ग्रह देख्न सक्दैन किनभने त्यो या छोपिएको हुन्छ या तारामण्डलका अन्य प्रकाशले देख्न नसक्ने तुल्याइदिन्छन् ।
तर ज्यानुअरीको अन्त्यतिर यो ग्रह असाध्यै चम्किलो देखिनेछ । त्यसैले हेर्नुहोला ।
२) दक्षिणी गोलार्द्धमा देखिने आकाशीय पीण्डहरू
भूमध्यरेखाको दक्षिणतिरबाट तारामण्डल अवलोकन गर्नु सिकारु र दक्ष खगोलशास्त्रीहरूका लागि बडो रोमाञ्चक दृश्य हुनसक्छ ।
शुरूवातकर्ताहरूका लागि आकाशगङ्गाको मार्ग यति स्पष्ट र चम्किलो हुन्छ कहिलेकाहीँ त आकाशमा तारैताराको इन्द्रेणीजस्तो देखिन्छ स् क्षितिजदेखि क्षितिजसम्म बहुरङ्गी अर्ध गोलाकार दृश्य ।
यो क्षेत्रबाट विभिन्न आकाशीय पीण्डहरू र खगोलिय गतिविधि नाङ्गो आँखाले देख्न सकिन्छ ।
३) उत्तरी गोलार्द्धको हिउँदको रात
हिउँदमा लामा रात हुन्छन् । चिसो हुने भए पनि खगोलशास्त्रीहरूकालागि तारापुञ्ज अवलोकनका लागि लामो समय उपलब्ध हुन्छ ।
अँध्यारो रात रोज्नुहोस् जस्तो कि ११ फेब्रुअरी औँसीको रात जब आकाशमा चन्द्रमा देखिँदैन त्यसबेला आकाशमा अन्य वस्तु राम्ररी देख्न सकिन्छ ।
त्यसो गर्दा सेभेन सिस्टर्स भनिने ताराहरूको सुन्दर समूहलाई तपाईँ शहरी क्षेत्रबाट पनि देख्न सकिन्छ ।
अझ तपाईँ आकाश अवलोकनमा अभ्यस्त हुँदै जानुभयो भने हाम्रो नजिकै रहेको अर्को आकाशगङ्गा पनि देख्न सक्नुहुन्छ ।
४) ओरियन तारामण्डल
खगोलबारे जान्न मन छ भने दुवै गोलार्द्धबाट देखिने तारामण्डल अवलोकनबाट शुरू गर्न सकिन्छ ।
ओरियन हिउँदमा राम्ररी देख्न सकिन्छ ।
उत्तरी गोलार्द्धमा भए दक्षिण-पश्चिमी आकाशमा र दक्षिणी गोलार्द्धमा भए उत्तर(पश्चिमी आकाशमा यो तारापुञ्ज देख्न सकिन्छ ।
अङ्ग्रेजीमा ‘द हन्टर’ पनि भनिने यो तारामण्डलमा रहेको एउटा भागमा नयाँ ताराहरू जन्मिरहेका हुन्छन् ।
५) मङ्गल ग्रहतर्फ गएका अन्तरिक्ष यान
यो वर्ष तपाईँले एक होइन दुई अन्तरिक्ष यानहरू मङ्गल ग्रहमा अवतरण भएको देख्न सक्नुहुनेछ ।
फेब्रुअरी १८ मा नासाको यान मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा छ ।
त्यसमा विभिन्न क्यामेराहरू जडान गरिएका छन् जसले मङ्गल ग्रहको माटोको अध्ययन गर्न सहयोग पुग्नेछ ।
यसले पूर्व र अहिलेको मङ्गल ग्रहमा हुनसक्ने जीवनको सङ्केतहरू खोज्नेछ ।
एप्रिलमा चीनको टियानवेन-१ यान मङ्गल ग्रहमा अवतरण हुनेछ । यसले मङ्गल ग्रहको सतहभित्र रहेको सम्भावित पानीका स्रोतहरू खोज्ने र त्यहाँबाट सामग्री ल्याएर पृथ्वीमा अनुसन्धान गर्ने सम्भावनाको खोजी पनि गर्नेछ ।
६) उल्कापात
प्राकृतिक आतसबाजी हेर्न मध्यरात पछिको समय कुर्नुपर्छ। र जहाँ कम प्रदूषण छ त्यहाँ पुग्नु राम्रो हुन्छ ।
‘मे महिनाको ४ तारिख एउटे त्यस्तै उल्कापात हुनेछ ।’
अर्को उल्कापात अगस्टको ११ तारिख हुनेछ । तर सबभन्दा राम्रो उल्कापात हेर्न भने वर्षको अन्त्यसम्म कुर्नुपर्नेछ ।
‘१३ डिसेम्बरका दिन हुने उक्लापात असाध्यै रङ्गीचङ्गी हुनेछ’ रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री ग्रेग ब्राउन भन्छन् ।
७) खग्रास चन्द्र ग्रहण
मे २६ का दिन चन्द्रमा पृथ्वीको छायाले छोपिनेछ ।
प्रशान्त क्षेत्रमा रहनेहरूले यो खग्रास चन्द्रग्रहण अवलोकन गर्न सक्नेछन् ।
सबैभन्दा उपयुक्त अवलोकन स्थल संयुक्त राज्य अमेरिकाको हवाइबाट हुनेछ ।
८) गोलाकार सूर्य ग्रहण
जून १० का दिन चन्द्रमाको छायाँसूर्यमा पर्नेछ, यो साधारण सूर्य ग्रहण मात्रै हुनेछैन ।
यो अवसरमा चन्द्रमा पृथ्वीबाट ४० लाख ४ हजार ३ सय किलोमिटर टाढा मात्र हुनेछ । त्यसको अर्थ चन्द्रमाको छायाले सूर्यलाई पूर्ण रूपमा छोप्न सक्ने हुनेछैन ।
त्यसैले सूर्यमा एउटा गोलो घेरा देखिनेछ ।
त्यसबेला सूर्यलाई प्रत्यक्ष हेर्नुहुँदैन भन्ने स्मरण राख्नुहोला ।
ग्रहणमा लगाउन मिल्ने चस्मा लगाउनुहोला ।
सूर्यमा गोलो घेरा क्यानडा, उत्तर-पश्चिमी ग्रीनल्यान्ड र उत्तर-पूर्वी साइबेरियाबाट र इन्टरनेटमार्फत् त सम्पूर्ण विश्वभरिबाट देख्न सकिनेछ ।
९) ग्रहहरू आमनेसामने
सौर्यमण्डलका सबै ग्रह सूर्यको वरिपरि घुम्ने भएकाले बेलाबखत पृथ्वी सूर्य र अरू ग्रहको ठिक बीचमा पर्ने गर्छ त्यसैलाई खगोलशास्त्रीहरूले ‘इन अपोजिशन’ अर्थात् आमनेसामने भन्ने गर्छन् ।
‘पृथ्वीका नजिक पर्ने ग्रहहरू कुनै उपकरणविना नाङ्गा आँखाले नै देख्न सकिन्छ । आमनेसामने हुँदा विभिन्न ग्रह झन् राम्ररी देख्न पाइन्छ’ रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री धरा पटेल बताउँछिन् ।
पटेल भन्छिन्, ‘शनि र बृहस्पति आगामी २ र २० अगस्टमा आमनेसामने हुनेछन् । ती दिनमा यी ग्रहको दूरी सबैभन्दा कम हुनेछ । तपाईँसँग टेलिस्कोप छ भने भूमध्यरेखातिर हेर्नुहोला राति १ बजेतिर । त्यसबेला बृहस्पतिको वरिपरिको घेरा झलझल परेको देख्न पाइन्छ ।’
१०) नयाँ टेलिस्कोपसार्वजनिकीकरण
खगोलशास्त्रीहरू अक्टोबर ३१ को प्रतीक्षामा छन् ।
३१ अक्टोबरमा जेम्स वेब स्पेश टेलिस्कोप अथवा जेडब्ल्यूएसटी नाम दिइएको नयाँ टेलिस्कोप सार्वजनिक गर्ने भनिएको छ ।
यो नयाँ विशाल टेलिस्कोपले इन्फ्रारेड एस्ट्रोनोमीमा नयाँ युग शुरू गर्ने ठानिएको छ ।
त्यसपछि खगोलशास्त्र झन् झन् परिस्कृत हुँदै जाने खगोलविदहरू बताउँछन् ।
वीवीसीबाट
३ माघ २०७७, शनिबार १४:१६ प्रकाशित