६ बैशाख २०८१, बिहीबार
दुई किर्गिस्तानी हेलिकोप्टर नेपालमा अलपत्र
  • काँचुली खबर

१ जनवरी २०२१ का दिन बंगलादेशको ढाकाबाट दुई हेलिकोप्टर त्रिभुवन विमानस्थल आए । ३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यी दुई हेलिकोप्टरलाई कीर्गिस्तानको नियामक निकायबाटै अनुमति माग भएपछि त्रिभुवन विमानस्थलमा अवतरणका लागि स्लट उपलब्ध गराइएको थियो । यि हेलिकोप्टर किन नेपाल आएर अड्किए भन्ने आधिकारिक जानकारी सार्वजनिक भएको छैन । सम्भवतः भारतले अनुमति नदिएपछि दुई हेलिकोप्टर नेपालमै रोकिएको आशंका गरिएको छ ।

दुई हेलिकोप्टरलाई रिमोर्ट पार्किङमा छन् । प्रारम्भमा ९ दिनका लागि लिएको अनुमति पुरा भएको छ ।

प्राधिकरणका अनुसार यी दुई हेलिकोप्टरलाई अहिले जनवरीसम्म नेपालमै राख्ने गरी पुनः अनुमति माग भएकोमा त्यो अनुमति समेत स्वीकृति गरिएको छ । अब जनवरी महिनाभर दुबै हेलिकोप्टर त्रिभुवन विमानस्थलको रिमोर्ट पार्किङ वेमै रहने भएका छन् ।

महानिर्देशक पोखरेलका अनुसार यी हेलिकोप्टर ढाकाबाट काठमाडौं हुँदै नयाँ दिल्ली जाने गरी त्रिभुवन विमानस्थलमा ट्रान्जिट मागिएको थियो । हेलि स्काई नामक कम्पनीले इन्डोनेसियामा उडाइरहेका यी हेलिकोप्टर भारतमा नियमित उडान गर्ने प्रयोजन वा अन्य कुनै प्रयोजनमा लैजान लागिएको हुन सक्ने अनुमान प्राधिकरणका अधिकारीको छ ।

थप १५ दिनको पार्किङ अनुमति लिएर चालक दलका सदस्य इन्डोनेसिया फर्किइसकेका कारण हेलिकोप्टर नेपालमा राखिराख्ने प्रयोजनमाथि भने प्रश्न उठेको छ । प्राधिकरणका अधिकारीहरुका अनुसार भारतमा उडान अनुमति लिने प्रक्रिया लम्बिएका कारण समेत नेपालमा हेलिकोप्टर लामो समय रोकिएको आंशका छ ।

यी हेलिकोप्टर नेपालमा उडाउन भने ल्याइएको होइन । नेपालमा १५ वर्षभन्दा पुराना एयरक्राफ्ट ल्याएर उडाउन अनुमति छैन । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार प्राधिकरण प्रधान कार्यालयले उपलब्ध गराएको अनुमतिका आधारमा हेलिकोप्टरलाई पार्किङ स्थान उपलब्ध गराइएको हो ।

  • २ माघ २०७७, शुक्रबार १८:०८ प्रकाशित
  • Nabintech