८ बैशाख २०८१, शनिबार
घरेलु महासंघ कोहलपुरको भवन शिलान्यास
  • काँचुली खबर

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन शिलान्यास गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भवनको शिलान्यास गरेका हुन ।

कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण प्रक्रिया सुरु गरिएको हो । कोहलपुर नगरपालिका ११ प्रेमनगरमा नगरपालिकाद्धारा उपलब्ध गराईएको जग्गामा भवन निर्माण सुरु गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेम बिक्रम जिसीले जानकारी दिए ।

नगर क्षेत्रभित्रका साना तथा घरेलु उद्योगीहरुको छाता संगठनका रुपमा रहेको महासंघले गत वर्ष संचालन गरेको महोत्सवबाट संकलन भएको रकमले भवन निर्माण गर्न लागिएको जिसीले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले निर्धारित समयभित्रै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । कतिपय योजनाहरुले शिलान्यास गरेको लामो समयसम्म पनि पूर्णता नपाउने गरेको तर्फ ईंगित गर्दै रावतले भने, ‘जसले भवन शिलान्यास गरेको छ, उसैले भवनको उद्घाटन गर्ने गरी योजना अगाडी बढाउनुहोस ।’

कोहलपुर नगरपालिकाले उपलब्ध गराएको १ कठ्ठा ८ धुर जग्गामा हलसहितको एक तले भवन निर्माण गरी कार्यालय संचालन गरीने नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव चिन्तामणी उपाध्यायले जानकारी दिए । हाल भाडाको घरमा बसिरहेको महासंघले ६ महिनाभित्रै आफ्नै भवनमा कार्यालय संचानल गर्ने तयारीका साथ योजना अगाडी बढाएको उपाध्यायले बताए ।

भवन शिलान्यास कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति बाँके अध्यक्ष मधु खड्का, कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, १० नं. का वडाध्यक्ष निम बहादुर चलाउने, ६ नं. का वडाध्यक्ष रामशरण थारु लगाएत विभिन्न घरेलु तथा साना उद्योगीहरुको उपस्थिती रहेको थियो ।

  • १ माघ २०७७, बिहीबार १२:०० प्रकाशित
  • Nabintech