११ बैशाख २०८१, मंगलवार
दुई पटक महाभियोग खेप्ने ट्रम्प पहिलो राष्ट्रपति
  • काँचुली खबर

emabth20160406f51.jpg

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।

उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।

गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ ।

महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् ।

तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् । विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए ।

तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् ।

सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो ।


अब माथिल्लो सदनमा सुनुवाइ

अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ ।

त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ ।

कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ ।

न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा रहेको उल्लेख गरेको छ ।

 

ट्रम्प फेरि उम्मेद्वार हुन पाउँछन् ?

हो, पाउँछन् । किन कि महाभियोगले मात्र उनलाई राष्ट्रपतिको उम्मेद्वार बन्न रोक्दैन ।

त्यै पनि सिनेटमा हुने सुनुवाइले उनीमाथि लगाइएको आरोप पुष्टि गर्नै बाँकी छ ।

दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन ।

तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ ।

ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चासो पाइन्छ । कतिपय रिपब्लिकनहरूले महाभियोग नलगाएर राष्ट्रपति बन्न रोक्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए ।

यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो ।

पेन्सले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि डेमोक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन् ।

  • १ माघ २०७७, बिहीबार ०९:०९ प्रकाशित
  • Nabintech