६ बैशाख २०८१, बिहीबार
चन्द्रमामा ६५५ घण्टा बराबर १ दिन !
  • काँचुली खबर

शीर्षक पढेर अचम्म नमान्नु होला । कुरा साचो हो । चन्द्रमामा पृथ्वीका हिसाबले लामो समय पछि झण्डै ३२७.५ घण्टा पछि सूर्योदय भएको छ । र सूर्यको न्यानो पाउना साथ चिनिया रोभर युतुले आफ्नो दिनचर्या प्रारम्भ गरेको छ ।

ल, यसबारे अलिक विस्तारमै उल्लेख गरौं । पृथ्वी झैँ चन्द्रमा पनि आफ्नो धुरीमा घुम्छ । पृथ्वीले आफ्नो धुरीमा घूमेका कारण नै यहाँ दिन र रात्रि भन्ने दुइटा अवस्था हुन्छन् । किन हुन्छन् यसको कारण प्राकृतिक एवं गणितीय छ । पृथ्वी झण्डै झण्डै गोलो छ यस कारणले सूर्यको प्रकाश पूरा पृथ्वीमा एकनास पर्न सक्दैन । र यसको घुम्ने कारणले एक पटकमा पृथ्वीको एक निश्चित भागमा मात्रै सूर्यको प्रकाश पर्छ । जहाँ प्रकाश पर्छ, त्यहाँ हामी दिन भएको भन्छौं र जुन भागमा सूर्यको प्रकाश परिरहेको हुँदैन त्यहाँ अँध्यारो भएका कारण रात्रि भन्ने चलन छ । पृथ्वी धुरीमा घुम्ने भएकोले एक भागमा दिन हुँदा अर्को भागमा रात पर्ने क्रम निरन्तर चलिरहेको हुन्छ ।

पृथ्वीले मोटामोटी २४ घण्टामा आफ्नो धुरी (अक्ष) मा एक फन्को लगाउने गर्छ । त्यसैले यहाँ १२ घण्टाको दिन र यति नै समयको रात्रि हुन्छ । तर चन्द्रमा ‘अल्छे’ भएकोले आफ्नो धुरीमा पृथ्वी झैँ तीव्र गतिले घुम्दैन । पृथ्वी आफ्नो धुरीमा प्रति सेकेण्ड ४६५ मीटरको गतिले अर्थात प्रति घण्टा १,६७४ किमीको गतिले फन्को मारिरहेको हुन्छ । चन्द्रमा भने यस मामलामा अति अल्छे एवं सुस्त छ । पृथ्वीको तुलनामा उसको धुरीमा परिभ्रमण गर्ने गति झण्डै १०० गुना कम अर्थात जम्मा ४.६२७ मीटर प्रति सेकेण्ड हुन्छ । पृथ्वी आफ्नो गतिका कारण धुरीमा एक फन्को लगाउने काम २४ घण्टामै पूरा गर्छ भने चन्द्रमालाई एक फन्को लगाउन झण्डै ६५५.७ घण्टाको समय लाग्छ । यसको अर्थ के हो भने चन्द्रमामा एक पूरा दिन (दिन-रात) ६५५.७ घण्टाको हुन्छ । अर्थात चन्द्रमामा हुने रात्रि ३२७.५ घण्टा (पृथ्वीका १३.६६ दिनरात बराबरी) को हुन्छ र दिन पनि ३२७.५ घण्टाको हुन्छ ।

चन्द्रमाको जुन भागमा चिनिया रोभर युतु गएर बसेको छ, त्यस भागमा हिजोसम्म रात्रिको समय थियो । र, तपाईं झैँ रात्रिको समयमा रोभर युतुले पनि काम नगरी आराम गर्यो र बिहान हुनासाथ फ्रेश भई आफ्नो काममा लाग्यो । अब यसको वैज्ञानिक कारण के हो भने रोभर युतु र चन्द्रमामा भएको यसको घर अर्थात चिनिया चन्द्र मिसन चाङ्गुइ ४ को ‘ल्यान्डर’ को ऊर्जा आपूर्ति सूर्यबाट नै हुन्छ । रात्रि भएकाले यसका सौर्य प्यानलले काम गरेन र रोभर युतु ‘ल्यान्डर’ भित्र पसी अलि कति भए पनि चन्द्रमाको रात्रिकालीन माइनस १८० डिग्री तापमानको चिसोबाट जोगियो । चन्द्रमाको वातावरण गज्जब नै छ । यहाँका राति माइनस १८० सम्मका चिसा हुन्छन् भने दिनको तापमान १०० डिग्री सेल्सियससम्म पुग्छ । यसो हुनुको पछाडि चन्द्रमाको वातावरण पृथ्वी झै सघन नभई अत्यन्त पातलो हुनु नै हो ।

युतुले चन्द्रमाको २६ औं दिनमा सूर्य स्नान गर्दै ‘ड्यूटी ज्वाइन’ गरेको हो । युतु चन्द्रमामा पुगेपछि २६ ‍औं पटक सूर्योदय भएको हो । अर्थात युतुको उमेर २६ चन्द्रमा दिन पुग्यो । त्यसो त पृथ्वीका हिसाबले युतुको उमेर २ वर्ष ८ दिन पुगेको छ भनौं ७३८ दिन (यो समाचार लेखी रहदा पुष २७ गते रजनवरी ११ का दिन सम्म) । पृथ्वीका यी ७३८ दिनमा चन्द्रमामा भने २६ औं पटक दिन भएको छ । माथि उल्लेख गरिसकिएको छ, चन्द्रमाको दिन ३२७.५ घण्टाको र रात्रि ३२७.५ घण्टाको दुबैको जोड ६५५ घण्टामा चन्द्रमाले आफ्नो धुरीको परिक्रमा पूरा गर्छ । त्यहाँको एक दिन (दिन-रात) पृथ्वीको २७.३२१६६१ दिन (दिन-रात) बराबरी हुन्छ । चन्द्रमाको रात्रिको अवधि पृथ्वीका १३.६६ दिन (दिन-रात्रि) र चन्द्रमाको दिनको अवधि पनि पृथ्वीका १३.६६ दिन बराबरी हुन्छ ।

पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । पृथ्वीको परिक्रमा गर्ने यसको गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ । यस गतिले पृथ्वीको चारैतिर घुम्दै यसले एउटा परिक्रमा पूरा गर्न ६५५.७ घण्टा अर्थात २७.३२१६६१ दिनको समय लाग्छ । चन्द्रमालाई आफ्नो अक्षको परिक्रमा पूरा गर्न र पृथ्वीको परिक्रमा पूरा गर्न लाग्ने समय दुरूस्तै एउटै छ । यसै कारणले चन्द्रमाको एउटा भाग मात्रै पृथ्वीतिर रहेको हुन्छ र पछाडिको भाग कहिल्यै सामु आउन पाउदैन । चन्द्रमाको यही पृथ्वीबाट नदेखिने भाग (झण्डै ४३ प्रतिशत भाग) लाई नै ‘फार साइड अफ मून’ अथवा ‘डार्क साइड अफ मून’ भनिन्छ । अब तपाईलाई अन्दाजी गर्न गाह्रो हुन्न होला कि चन्द्रमाको ‘फार साइड’ मा दिन भएको छ अर्थात पृथ्वीवासीले ‘डार्क साइड अफ मून’ भन्ने ठाउँमा अहिले झलमल्ल घाम लागेको छ । अब यसो हुँदा पृथ्वीबाट देखिने भागमा भने रात्रिको शुभारम्भ भयो होला । यस कुराको पुष्टि त तपाई घरमै रहेको पात्रोबाट पनि गर्न सक्नुहुन्छ ।

  • २९ पुष २०७७, बुधबार १६:१३ प्रकाशित
  • Nabintech