नेपालीले गर्व गर्ने कुरा सगरमाथा मात्रै होइन, प्रकृतिका यस्ता थुप्रै उपहार प्राप्त छन यस भूखण्डलाई । यस क्रममा म्याग्दी जिल्ला पनि विश्व प्रसिद्ध छ । म्याग्दी जिल्लाको अन्नपूर्णा गाउँपालिका-३ दानामा रहेको गल्छी (gorges) विश्व कै सबैभन्दा गहिरो गल्छीमा गणना हुन्छ । देश विदेशबाट पर्यटक यसलाई हेर्न पुग्छन् ।
अन्धगल्छीका नामले प्रख्यात यस गल्छीको गहिराई १,३०० मीटर देखि २,६०० मीटरसम्म रहेको छ । नजीकको पर्वत श्रृङ्खला अन्नपूर्णा हिमालको चुचुरोबाट यसको गहिराई ५,५०० मीटर देखि ६,८०० मीटर सम्म रहेको छ । यो नै संसारको सबैभन्दा गहिरो गल्छी हो ।
तर नेपालको यस गल्छीलाई भने अब गहिराईको मामलामा चुनौती आइलागेको छ । यो चुनौती म्याग्दी जिल्लाबाट ७ करोड ७७ लाख ९२ हज़ार किमी टाढाबाट आएको हो ।
म्याग्दीबाट घटीमा ७,७७,९२००० र बढीमा ४० करोड़ १० लाख किमी टाढा भेटिएको गल्छी अन्धगल्छी भन्दा पनि गहिरो रहेको छ ।
पाठकगण समाचारलाई रोचक बनाउने उद्देश्यले हास परिहास युक्त पृथक शैली र प्रस्तुतिले पक्कै तपाईंको मनोरञ्जन गर्नुका साथै जानकारी बढ़ायो होला नभए समाचार त जम्मा यति हो मंगल ग्रहमा सौर्यमण्डल कै सबैभन्दा गहिरो उपत्यका (valley) को समूह अर्थात एउटै श्रृङ्खलामा रहेका अनेको उपत्यकासमूह (canyons) पाइएको छ । यसले पृथ्वीमा रहेको ‘grand canyons’ र ‘deepest gorge’ को रेकर्ड तोडेको छ ।
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले मंगल ग्रहको भ्याली मारिनिरस (Valles Marineris) को तस्वीर प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । नासाले शेयर गरेको तस्वीरमा देखिएका पहाड र canyons को विशालता प्रष्टसँग देखिन्छ । नासाका अनुसार मंगल ग्रहको परिधिको एक चौथाई भाग ओगटछन् यी पहाडले । यी पहाड झण्डै ४,००० किमीसम्म विस्तृत रहेका छन् ।
यी तस्वीर नासाको ‘हाई रेजुलेशन इमेजिंग साइंस एक्सपेरिमेंट’ (HiRISE) मिसन अंतर्गत खिचिएका हुन् । यस मिसनमा नासाले अति शक्तिशाली क्यामेरा जडान गरेको छ ।
नासाले १२ अगस्ट २००५ मा मंगल मिसनअन्तर्गत पठाएको ‘मार्स रेकनाइसेन्स आर्बिटर’ (Mars Reconnaissance orbiter) मा अति उच्च स्तरको हाइ रेजुलेशन भएको क्यामेरा जडान गरेको थियो । यसले १० मार्च २००६ मा मंगलको कक्षमा पुगी परिक्रमा गर्दै आफ्नो काम थालेको थियो । यो क्यामेरा वास्तवमा ०.५ मीटरको टेलिस्कोप नै हो । यसै क्यामेराले मंगलको भ्याली मारिनिरस क्षेत्रको तस्वीर पठाएको हो । नासाको यो ऑर्बिटर अहिलेसम्म काम गरी रहेको छ ।
मंगल ग्रहको यो canyons मात्रै पृथ्वीका उपत्यका र गल्छी भन्दा ठूलो होइन । यहाँको ओलम्पस मोन्स (Olympus Mons) ज्वालामुखी पनि सौर्यमण्डलको सबैभन्दा ठूलो ज्वालामुखी हो । यूरोपियन स्पेस एजेन्सीका अनुसार यी दुबै बीच केही आपसी सम्बन्ध पनि हुन सक्छ ।
पृथ्वीका वैज्ञानिकहरुको मंगल ग्रहप्रति आकर्षण बढ्दो छ । यसै क्रममा नासाले ‘मार्स मिसन २०२०’ अंतर्गत गत ३० जुलाई २०२० मा रोवर (Perseverance) र रोबोटबाट सञ्चालित हुने हेलीकाप्टर (Ingenuity) सहितको मिसन पठाएको थियो । तपाईले यो पढिरहेको केही दिनभित्र नै यो मिसनले १८ फेब्रुअरी २०२१ मा मंगल ग्रहको धरातल छुने छ ।
यसैगरी चीनले पनि २३ जुलाई २०२० मा पठाएको तियानवेन १ र संयुक्त अरब एमिरेट्सको मंगल मिसन ‘होप’ पनि फेब्रुअरी महीनामै मंगलको ऑर्बिटमा पुग्ने छन् । संयुक्त अरब एमिरेट्सको मिसन ऑर्बिटर मात्रै हो भने चीनको मिसन ऑर्बिटर, ल्यान्डर र रोभरसहितको हो । चीनको ऑर्बिटर फेब्रुअरी महीनामै मंगलको ऑर्बिटमा पुगे पनि ल्यान्डरले भने अप्रैल १८ तिर मंगल धरातल छुने कार्यक्रम रहेको छ ।
चीनको ल्यान्डर र रोभरले सफलतापूर्वक मंगल ग्रहमा अवतरण गर्यो भने चीन यस्तो उपलब्धि पाउने दोस्रो देश बन्ने छ । यस अघि अमेरिकाले मात्रै मंगल ग्रहमा ओर्लिने सफलता पाएको छ ।
मंगल ग्रहको धरातलमा अवतरण गर्नु चन्द्रमामा अवतरण गर्नुभन्दा जटिल कुरा हो । किनकि मंगल ग्रहको गुरुत्वाकर्षण चन्द्रमा भन्दा बढी रहेको छ । चन्द्रमाको सतहको गुरुत्वाकर्षण १.६२ मीटर प्रति स्क्वायर सेकेण्ड छ भने मंगल ग्रहको गुरुत्वाकर्षण चन्द्रमा भन्दा तीन गुना बढी ३.७११ मीटर प्रति स्क्वायर सेकेण्ड रहेको छ । गुरुत्वाकर्षण बढी भएकोले मंगलमा ओर्लिन जटिल हुन्छ । ल्यान्डरको गति कम गर्न ओर्लिने बेलामा प्याराशूट कै प्रयोग गर्नुपर्ने हुन्छ ।
२९ पुष २०७७, बुधबार १४:४३ प्रकाशित