१३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्रीका पाहुनाले सगरमाथामा भारतको दाबी गरे
  • काँचुली खबर

भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ ।

जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।

त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउँदै उनले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

तिनै विवादित जी न्यूजका प्रधानसम्पादक चौधरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएका थिए । स्रोतका अनुसार ‘रअ’ प्रमुख सामन्त गोयललाई नेपाल ल्याउन मध्यस्ता गर्ने टोलीले नै चौधरीलाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरवार्ता गर्ने चाजोपाजो मिलाएको थियो ।

  • २९ पुष २०७७, बुधबार ०८:४२ प्रकाशित
  • Nabintech