१५ चैत्र २०८०, बिहीबार
‘मैले भेट्न खोज्दा ८/८ महिनासम्म समय नदिने, तपाई खबरै नगरी आउँदा मैले स्वागत गर्नुपर्ने ?’
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिम प्रदेश पुगे । आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरु, प्रदेश प्रमुख लगायत पुगे । तर मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् ।

पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्री भट्ट स्वागतमा नगएपछि उनमा ‘राजनीति संस्कार नभएको’ भन्दै आलोचना भइरहेको छ । आमसभामै नवनियुक्त वनमन्त्री प्रेम आलेले कस्तो संस्कार नभएको मान्छेलाई मुख्यमन्त्री बनाइएछ भन्दै आक्रोश पोखेका थिए ।

अहिले सामाजिक सञ्जालमा ओली समूहका कार्यकर्ताले मुख्यमन्त्री भट्टको आलोचना गरिरहेका छन् भने दाहाल-नेपाल समूहले भने भट्टको बचाउ गरिरहेका छन् । प्रचण्ड नेपाल समूहले भट्टले ठिक गरेको भनिरहेका छन् । नागरिक अगुवा र सञ्चारकर्मीसमेत मुख्यमन्त्रीको यो कदममा विभाजित भइरहेका बेला भट्टका स्वकीय सचिव शिवसिंह ओलीले समन्वय र औपचारिक जानकारी नहुँदा मुख्यमन्त्री भट्ट स्वागतमा नगएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि भेट्न खोज्दा पछिल्लो ८ महिनासम्म समय नदिएको बताउँदै शिवसिंहले प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि नगरिकनै स्वागतको आश गर्नु गलत भएको उल्लेख गरेका छन् ।

स्वकीय सचिवले मुख्यमन्त्रीले शिष्टाचार भेट नगर्दैमा संस्कार नभएको नहुने जवाफ दिएका छन् ।

‘पहिले राजाको सवारी हुँदाको अञ्चलाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक ब्यबस्थामा कल्पना समेत गरिँदैन । किनकि यहाँ अहिले सामन्तवाद छैन । ८/८ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नुनपर्ने । तर शिष्टाचार भेट गर्नुपर्ने । नगरे संस्कारहिन हुनुपर्ने । त्यसो नगर्दा प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने । कस्तो तर्क ? अनि कस्तो सनक ?’ स्वकीय सचिव शिवसिंहले फेसबुकमा मुख्यमन्त्रीका तर्फबाट जवाफ दिएका छन् ।

स्वागतमा नआउँदा प्रदेशसभा नै विघटन गरिदिने र मुख्यमन्त्री नै फेर्ने केन्द्रीय मन्त्रीहरुको धम्कीमा पनि स्वकीय सचिवले जवाफ दिएका छन्, ‘मुख्यमन्त्री व्यक्ति होइन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर पनि हो । त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होईन । यो हजारौ शहीदको बलिदानीबाट प्राप्त उपलब्धि हो ।’

  • २५ पुष २०७७, शनिबार १४:३६ प्रकाशित
  • Nabintech