११ बैशाख २०८१, मंगलवार
जनकपुर-जयनगर रेल सेवाको भाडा निर्धारण
  • काँचुली खबर

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघभित्र जसरी पनि रेल सेवा सञ्चालनमा ल्याउने बताएका छन । यद्यपी दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।

महाप्रबन्धक भट्टराईले माघभित्र जसरी पनि रेल सेवा सुरु गर्ने लक्ष्यका साथ आवश्यक पर्ने टिकट र सफ्टवेयरसमेत तयार भइसकेको बताए । भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० सम्म तोकिएको जानकारी दिए ।

उनले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताए । महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए ।

कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ । जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको ठाउँमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ ।

स्टेशन र हल्ट भएका ठाउँमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । जनकपुर-जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने भट्टराई बताउँछन ।

सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ-ठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वामा रहेको नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ । यसरी पटक-पटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भएर रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् ।

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यही माघभित्र जसरी पनि सञ्चालनमा ल्याउने दाबी गर्छन । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

महाप्रबन्धक भट्टराईकाअनुसार आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने छ । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

भट्टराईले भने, ‘प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जीटूजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्तरुप दिन यस प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।’

उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए ।

उनले नेपालकातर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताए । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए ।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको जानकारी दिए ।

उज्यालोबाट

  • २४ पुष २०७७, शुक्रबार १२:५३ प्रकाशित
  • Nabintech