के हो यूएफओ ? के साँच्चै पृथ्वीमा एलियन आउँछन् !
  • काँचुली खबर

हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि थप अनुसन्धान हुन सकेको छैन ।

यसबारे कहिलेकाहीँ विज्ञान र खगोलशास्त्रका ज्ञाताहरुले आफ्नो वक्तव्य दिँदा सामान्यजनमा यसप्रति विशेष चासो देखिनु स्वाभाविक नै हो । केही समय पहिला इजरायलका एकजना खगोलविदले एलियन पृथ्वीसँग सम्पर्कमा रहेको दावी गरेर तहल्का मच्चाइदिएका थिए । संसारभरिका मिडियाले उनको कुरालाई चाहिनेभन्दा बढी नै महत्त्व दिए ।

यसैगरी हार्वर्ड यूनिभर्सिटीको एस्ट्रोनॉमी डिपार्टमेन्टका प्रोफेसर अवी लोएब (Avi Loeb) ले भर्खरै मात्र एलियन र उनका पृथ्वीमा आउने यान (यूएफओ : अन आइडेंटिफाइड अब्जेक्ट) बारे खुलासा गरेर संसारभरिको मिडियामा तरंग ल्याई दिए । प्रोफेसर लोयबले १९ अक्टूबर २०१७ मा पृथ्वीबाट देखिने गरी पास भएको अन्तरिक्ष चट्टान Oumuamua लाई सामान्य ऐस्टेरॉयड नभएर एलियनले फ्याँलेको चट्टान अथवा एलियनशिप नै भएको दावी गरेका छन । सिगारको आकृति झैँ रहेको Oumuamua लाई युनिभर्सिटी अफ हवाईको PAN-STARRS १ टेलिस्कोपले देखेको थियो । हुन त प्रोफेसरको दावी झै यसको चरित्र अन्य ऐस्टेरॉयड भन्दा बेग्लै रहेको थियो ।

‘एक्स्ट्राटेरेस्ट्रियलः द फर्स्ट साइन ऑफ इंटेलिजेंट लाइफ बेयॉन्ड अर्थ’ (Extraterrestrial: The First Sign of Intelligent Life Beyond Earth) नामक पुस्तकमा उनले यसको बृहद चर्चा गरेका थिए । यसै सिरिजमा उनको आउने नयाँ पुस्तकमा यस विषयमा थप चर्चा गरिएका छन् ।

एलियन र उनका यान विषयक चर्चाका क्रममा एउटा नयाँ अध्याय थपिएको छ । घटना हवाईको ओहाऊ (O’ahu) भन्ने स्थानको हो । गत २९ दिसम्बरको रात्रि त्यहाँका मानिसले आकाशबाट एउटा चम्किलो वस्तु आउदै गरेको देखे । देख्दा देख्दै त्यो वस्तु समुद्रमा विलीन भयो । संयोगले यस अद्भुत घटनालाई कारमा यात्रा गरिरहेकी मोरिअह नामक महिला र उनका पतिले छायांकन गर्ने अवसर पाए । त्यहाँका मिडियाले यस भिडियोलाई प्रसारण गरेका छन् । मोरिअह भन्छिन् त्यो वस्तु टेलीफोनको खम्बाभन्दा पनि ठूलो थियो र त्यो धेरै तीब्र गतिले पृथ्वीतिर आइरहेको थियो । पहिला त उनलाई कुनै हवाइजहाज जस्तो लाग्यो तर वस्तुको गतिबाट कुनै किसिमको ध्वनि नभएकाले उनले तुरुन्तै यो हवाइजहाज नभएको लख काटिन् । उनका अनुसार त्यो वस्तु तीब्रगतिका साथ समुद्रमा पस्यो ।

हवाईको त्यस क्षेत्रमा कुनै हवाई जहाज हराएको समाचार छैन । मोरिअहका अतिरिक्त यस घटनालाई हवाईका थुप्रै मानिसले देखेको कुरा प्रकाशमा आएको छ ।

यस घटनाबारे कैयन वैज्ञानिकको भनाइ छ यो पृथ्वीमा खसेको कुनै उल्कापिण्ड हुन सक्छ । तर यस भनाइलाई समर्थन गर्ने कुनै बलियो आधार छैन । संसारका कुनै पनि स्पेस एजेन्सीले उल्कापिण्ड खसेको भनेका छैनन् । स्पेस एजेन्सीले पृथ्वीको कुनै पनि क्षेत्रमा खसेको उल्का पिण्डबारे खस्ने क्रममै जान्न सक्छन् । यस घटना पछि हवाईका मानिसमा एलियनलाई लिएर कौतुहलताका साथै डर र त्रासको भावना बढेको छ ।

  • २२ पुष २०७७, बुधबार १७:३१ प्रकाशित
  • Nabintech