१५ चैत्र २०८०, बिहीबार
विश्वकप प्रिभ्यु : २५ वर्षपछि भिड्दै रुस र साउदी अरेबिया
  • काँचुली खबर

आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ ।

आयोजक भएका नाताले रसियामाथि राम्रो नतिजा निकाल्नुपर्ने ठूलो दबाब छ । तर, ठूलो अवसर घरमै आइपुग्दा टोलीको अवस्था राम्रो छैन । रुस फिफा वरियताको ७० औं स्थानमा छ ।

गत अक्टुबरयता, रुसले कुनै पनि खेल जितेको छैन । रुसी प्रशिक्षक स्टानिसलाभ चेर्चीसोभ, जो राष्ट्रिय टिमका पूर्व गोलकिपर समेत हुन् । उनीमाथि निश्चय नै दबाब हुनेछ ।

अर्कोतर्फ साउदी अरेबिया दबाबरहित हुनेछ किनकी रुसपछि साउदी कमजोर मानिएको टोली हो । फिफा वरियता साउथी ६७ औं स्थानमै सिमित छ । उसका लागि रुससँग जित निकाल्नु नै ठूलो अवसर हुनेछ ।

मस्कोस्थित लुझिन्की रंगशालामा हुने यस खेलमार्फत नै सन् २००६ पछि साउदीले विश्वकपमा कमब्याक गर्दैछ ।

साउदीका लागि सबैभन्दा खराब पक्ष पूर्व प्रशिक्षकको राजीनामा पनि हो । नेदरल्यान्डसका बर्ट भान मार्जविकले साउदीलाई विश्वकपमा छनोट गराएका थिए । तर, गत सेप्टेम्बरमा उनले राजीनामा गरेपछि इडगार्डो बाउजाले दुई महिनामात्रै टोली सम्हाले । त्यसपछि अहिले जुआन एन्टोनियो पिज्जीले प्रशिक्षण गराउँदै आएका छन् । चिलीका यी प्रशिक्षकको नेतृत्वमा साउदीले ९ वटा मैत्रिपूर्ण खेल खेलेको छ र त्यसमध्ये ३ खेल जितेको छ ।

तर, पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको रसियाभन्दा यो रेकर्ड राम्रो हो । साउदीले पिज्जीकै प्रशिक्षणमा सन् १९९४ पछि पहिलोपटक विश्वकपको समुह चरण पार गर्ने आशा राखेको छ ।

‘हामीले रसियाको खेललाई नजिकबाट नियालेका छौं । उनीहरु निकै राम्रो खेल्छन् र बलिया तथा एकिकृत छन् । डिफेन्स भत्काउन सहज छैन,’ साउदीका मिडफिल्डर याह्या अल सेरीले भनेका छन्, ‘सबैभन्दा पहिले हामी आफ्नै खेलमा केन्द्रीत हुनेछौं र आशा छ हामीले जित निकाल्छौं ।’

रुसका अर्टिम डेज्युवाले आफ्नो फ्यानहरुलाई समर्थनका लागि आग्रह गरेका छन् । ‘हामी आफुले जित्न चाहेको प्रतियोगिताका लागि तयारी गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘हाम्रा लागि यो जीवनको सबैभन्दा ठूलो अवसर हो र हामीलाई पूरै देशको समर्थनको खाँचो छ । हामी लड्छौँ, संघर्ष गर्छौ र त्यसपछि हाम्रो मुल्याङ्कन गर्नुहोला ।’

प्लेयर टु वाच
रुस : फेडोर स्मोलोभ

गोल गर्न नसक्ने समस्याबाट रुस ग्रस्त छ । उसले यस वर्ष खेलेका चार मैत्रिपूर्ण खेलमा केवल २ गोल गरेको छ । यस्तोमा क्रासनोडरबाट व्यवसाहिक फुटबल खेल्ने स्मोलोभबाट रुसी समर्थकले ठूलो आशा गर्नेछन् । २८ वर्षका यी खेलाडीले पछिल्ला ३ सिजन रुसको माथिल्लो लिग खेल्ने क्लबका लागि ५२ गोल गरेका छन् । प्रिमियर लिगका क्लबहरु उनलाई भित्र्याउन चाहन्छन् ।

ओशामा हसावी

साउदीको टोलीका कुनै पनि खेलाडीसँग विश्वकप खेलेको अनुभव छैन । १ सय ३५ अन्तर्राष्ट्रिय खेल खेलेका ओशामा टोलीाक अनुभवी खेलाडी हुन् । ठूला प्रतिस्पर्धामा पहिलो खेल टोलीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा उनी राम्रो जानकार हुनुपर्छ । ३४ वर्षका यी डिफेन्डर अल हिलालबाट व्यवसाहिक फुटबल खेल्छन् ।

– रुस र साउदी अरेबियाबीच अहिलेसम्म एकपटक मात्रै प्रतिस्पर्धा भएको छ । त्यो पनि २५ वर्षअघि । सन् १९९३ को अक्टुबरमा भएको प्रतिस्पर्धामा साउदीले रुसलाई ४–२ ले हराएको थियो । यो मैत्रिपूर्ण खेल साउदी अरेबियामै भएको थियो ।
– सन् १९९८ मा फ्रान्सले उपाधि जितेपछि कुनै पनि आयोजक देशले विश्वकप उपाधि जित्न सकेका छैनन् । तर, सन् २०१० लाई बिर्सने हो भने विश्वकपका हरेक संस्करणमा आयोजक टोलीले पहिलो चरण पार गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको थियो ।

  • ३१ जेष्ठ २०७५, बिहीबार १८:०७ प्रकाशित
  • Nabintech