१३ बैशाख २०८१, बिहीबार
श्रीमानबाटै बेचिए आमाछोरा
  • काँचुली खबर

भारतको बैंगलुरुमा श्रीमानबाट बेचिएकी एक महिलाको फिल्मी शैलीमा उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले चार महिनाअघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेका थिए । बैंगलुरुको एक प्लास्टिक उद्योगमा नारकीय जीवन विताइरहेकी ती महिलाका बारेमा प्रारम्भीक जानकारी प्राप्त भएको उद्दारकर्ता मध्येको एक सामाजिक सेवा केन्द्र सोसेकको पहलमा उद्दार गरिएको हो ।
सोसेक दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाका अनुसार भारतको बैंगलुरुमा बेचिएकी उनी र उनको २ बर्षीय छोराको उद्दार गरिएको हो । श्रीमानबाट बेचिएर प्लास्टिक उद्योगमा नारकीय जीवन विताइरहेकी ती महिलालाई लखनउमा कार्यरत नेपाली मुलका भारतीय प्रहरीले ९जो बेचिएकी महिलाका चिनेका व्यक्ति हुन्० व्यक्तिगतरुपमा जोखिम मोलेर महिलाको उद्दार गरेका हुन् ।
सोसेकका संस्थापक अध्यक्ष थापाका अनुसार बेचिएकी महिलाले लुकिछिपी फोन गरेर आफन्तलाई आफू बेचिएको खबर गरेको र ती आफन्तले सोसेकमा निवेदन दिएपछि उद्दार प्रक्रिया सुरु भएको थियो । सरकारी प्रक्रियाबाट जाँदा ढिलाई हुने र महिलाले आफू बेचिएकोबारे खबर गरिसकेको जानकारी पाएपछि प्लास्टिक उद्योग संचालकबाट खतरा हुनसक्ने आँकलन गरेर हतारहतारमा उद्दार गरिएको पनि थापाले जानकारी दिए ।
महिलालाई उद्योगको पछाडिको पर्खाल नाघेर भाग्न भनेको र त्यहाँबाट लखनउका ती प्रहरीले गाडीमा हालेर पाँचौ दिनमा लुकाइछिपाई लखनउ पुर्याएका थिए । ती महिलालाई उद्दार गर्न खटिएका नेपालीमुलका प्रहरीलाई भारतीय प्रहरीले अनौपचारिक सुरक्षा उपलब्ध गराएको थियो । उद्दार गरिएकी महिलालाई नेपालगन्जबाट आइतबार काठमाडौंस्थित शक्ति समूहको आश्रयमा लगिएको छ ।
बेचिएकी महिला ब्राम्हण समुदायकी हुन् । उनलाई २ लाख २० हजार रुपैयाँमा श्रीमान् र परिवारका सदस्यहरुबाटै बेचिएको बुझिन आएको छ । ती महिलालाई प्लास्टिक उद्योगमा दिनभर काम गराईन्थ्यो । खान र बस्न मात्र दिइन्थ्यो, तलब दिइँदैनथ्यो । उनीजस्तै १३ जना भारत असामका महिलाहरु उक्त प्लास्टिक उद्योगमा नारकीय जीवन विताइरहेको पनि ती पीडित महिलाले जानकारी दिएको थापाले बताए ।
उक्त उद्योगमा बच्चासहित आमालाई खरिद गर्ने गरिएको बुझिएको छ । ३ बर्ष उमेर पुगेपछि बच्चाहरुलाई अध्ययनका लागि पठाउने भन्दै आमाहरुबाट अलग्गै लैजाने गरिएको र कहाँ लगेको भनेर कुनै जानकारी नदिईने गरेको पनि थापाले बताएका छन् । बेचिएकी महिलाकातर्फबाट सोसेक र शक्ति समूहले कानुनी लडाईँ सुरु गरिसकेका छन् ।

  • २९ जेष्ठ २०७५, मंगलवार २२:५० प्रकाशित
  • Nabintech