१३ बैशाख २०८१, बिहीबार
सुनसरीमा चुनावी गर्मी: ‘हेभि वेट’लाई चुनाव जित्न हम्मेहम्मे
  • काँचुली खबर

मंसिर १६ । आगामी विहीवार हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका उमेदवारहरु जनताको घर दैलोमा गएर भोट माग्न र चुनावी सभा गर्न ब्यस्त छन् ।

सुनसरीमा लोकतान्त्रिक, बाम र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सुनसरीमा प्रमुख राजनीतिक कांग्रेस, एमाले र संघीय समाजवादी फोरमबीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

उपप्र्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्र कार्की र एक नम्बर प्रदेशको मूख्यमन्त्रीको दावा गरिरहेका एमाले सचिव भीम आचार्यसहितका उम्मेद्वार चुनाबी मैदानमा उत्रिएपछि चुनावी तातो बढेको हो ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्न सबै उमेद्वार कम्मर कसेर उत्रिएका छन् । उम्मेदवारलाई छेक्न र रोक्ने चुनाव विरोधी तत्वले बम विष्फोटका घटना गराइरहेपनि उनीहरु जनतासँग टाढिएका छैनन् ।

बरु झन् बढी आत्मविश्वास र उत्साहकासाथ उनीहरु मतदाताका घरदैलोमा पुगेका छन् । चोक चोक र प्रत्येक वडामा चुनावी सभामार्फत चुनाव प्रचार तीब्र पारेका छन् ।

जिल्लाभरमा प्रतिनिधि सभा सदस्यका लागि ५३ र प्रदेश सभा सदस्यका लागि ९३ जनाले उम्मेद्वारी दिएका छन् ।

सबै क्षेत्रमा विजयको झण्डा फहराउने गरी चुनावी अभियान तीब्र पारिएको कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङको दावी छ ।

एमालेका जिल्ला अध्यक्ष रमेश बस्नेत पनि जितमा चूक हुन नदिने गरी पार्टी पंक्ति परिचालन गरिएको बताउँछन् ।

सुनसरी १ मा बाम गठबन्धनका तर्फबाट एमालेका जयकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोेरमका अशोक राई प्रतिस्पर्धामा छन् ।

प्रदेशतर्फ १ को क मा एमालेका प्रदिप भण्डारी र कांग्रेसका किशोर राई तथा ख मा एमालेका भीम आचार्य र कांग्रेसका बुद्धी कटवालबीच प्रतिस्पर्धा हुने छ ।

सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसका सीताराम मेहता र माओवादीका डम्बर सुवेदीबीच मूख्य प्रतिस्पर्धा देखिन्छ ।

प्रदेशतर्फ २ को (क) मा एमालेका सर्वध्वज साँवा र कांग्रेसका हेमकर्ण पौडेल तथा (ख) मा कांग्रेसका जिल्ला सभापती राजिव कोइराला र एमालेका रामप्रसाद मेहताबीच टक्कर छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा उपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदारसँग एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छिन् ।

प्रदेश तर्फ (क) मा एमालेका निलम खनाल र कांग्रेसका कुमार थापाबीच प्रतिष्पर्धा हुने छ । प्रदेश तर्फको (ख) मा कांग्रेसका अगमलाल चौधरी र एमालेका रामदेब यादवबीच प्रतिस्पर्धा हुने छ ।

क्षेत्र नम्बर ४ मा अर्थमन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्की र एमालेका रमेश श्रेष्ठबीच मूख्य प्रतिष्पर्धा हुने छ ।

प्रदेशतर्फ (क) मा एमालेका जगदिश कुसियत र कांग्रेसका रेवती दुलालबीच प्रतिष्पर्धा हुँदा (ख)मा कांग्रेसका ताहिर अन्सारी र माओवादीका जाकिर हुसेन एवं संघीय समाजवादीका मनोज यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने छ

  • १६ मंसिर २०७४, शनिबार १४:३६ प्रकाशित
  • Nabintech