प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दुई चरणमा भएको निर्वाचनका नतिजा धमाधम आइरहेको छ ।
अहिलेसम्मको रुझान हेर्दा प्रतिनिधिसभा र प्रदेशसभामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले फराकिलो मतान्तरले पराजय भोग्ने निश्चित देखिएको छ । एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले फराकिलो अन्तरले जीत हासिल गरिरहेको छ ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस किन निकै कमजोर उपस्थिति सहित पराजयमा पुग्यो भन्ने विषयमा आम राजनीतिक बृत्त र कांग्रेस भित्रै पनि छलफलको विषय बनेको छ । चुनावी नतिजा आउन थालेपछि कांग्रेसका नेताहरुले परिणामलाई अनपेक्षित, आश्चर्यजनक र केहीले त दुर्घटना समेत भन्न थालेका छन् । तर, कांग्रेस नेताहरुका यी प्रतिक्रियाले कांग्रेस अझै पनि पराजयको वास्तविक कारण खोज्ने प्रयासमा छैन भन्ने नै देखाउँछ । मुलुकमा संविधान जारी गर्ने बेलादेखि यता कांग्रेसले लिएको नीति र उसले पक्रेको राजनीतिक दिशाका आधारमा भन्ने हो भने कांग्रेसको यो पराजय स्वाभाविक र अझ उत्साहजनक नतिजा भन्नु पर्ने हुन्छ ।
संविधानको पिता दावी गर्दै संविधान विरोधी कित्तामा उभिनु
कांग्रेस पराजयको सुरुवात संविधान जारी गर्ने बेला ढुलमुले हुनुबाटै भएको थियो । त्यसबेला नेपालले सार्वभौम जनताको प्रतिनिधि संस्था संविधानसभाबाट संविधान जारी गर्न खोज्दा छिमेकी देश भारतले अवरोध गरेको कतैबाट छिपेको छैन । सरकारको नेतृत्वमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला थिए । प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले संविधान जारी गर्न १६ बूँदे अवधारणा सहितको सहमति गरेका थिए । संविधान जारी गर्ने, त्यस लगत्तै एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान अनुरुपका संस्थाहरुको निर्वाचन गर्नेसम्मको सहमति उनीहरुले गरेका थिए । तर, संविधान जारी हुन नदिन छिमेकी देश भारतले विदेश सचिव एस जयशंकरलाई विशेष दूत नै पठाएर तीन दलका शीर्ष नेताहरुलाई चेतावनीपूर्ण ब्यवहार गर्यो । सामान्य कुटनीतिक मर्यादा समेत नअपनाई भारतीय विदेश सचिवले टोलेगुण्डा शैलीमा नेताहरुलाई थर्काए । त्यसबाट कांग्रेस नेतृत्व लड्खडायो । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले केही दिन संविधान जारी गर्नबाट रोक्ने र भारतले भने बमोजिम ‘मधेसी दलका’ एजेण्डा संविधानमा समावेश गर्ने प्रस्ताव नै राखे । तर, स्थिति निकै अघि बढिसकेको थियो र एमाले अध्यक्ष केपी ओलीले संविधानसभाको निर्णय कुनै पनि देशको आदेशबाट प्रभावित हुन नहुने अडान राखे । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले साथ दिए । कांग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला र अमरेशकुमार सिंह लगायतले संविधान जारी गर्न रोक्ने प्रयासमा कोइरालालाई साथ दिएका थिए । तत्कालीन राष्ट्रपति डा रामवरण यादवलाई पनि संविधान रोक्ने टुल्सका रुपमा कांग्रेस नेतृत्वले प्रयोग गरेको थियो । तर, १६ बुँदे सहमति गरिसकेकाले देखावटी रुपमा संविधान जारी गर्ने पक्षमा उभिनु कांग्रेसका लागि वाध्यता थियो ।
अहिले कांग्रेस आफ्नै नेतृत्वले संविधान दिएको प्रचार गरेर चुनावमा गएको थियो । तर, संविधान जारी गर्ने बेलाको प्रष्ट तस्बिर नेपाली मतदाताको दिमागबाट हटिसकेको थिएन ।
कांग्रेस पराजयको दोस्रो खुट्किलो हो प्रधानमन्त्रीमा सुशील कोइरालाको फेरि उम्मेदवारी ।
संविधान जारी गर्ने बेला नै दुई डुंगामा खुट्टा टेकेको कांग्रेस संविधान जारी गरेपछि संविधान विरोधी शक्तिको पोल्टामा पुगिसकेको थियो । प्रमुख दलबीचको १६ बुँदे सहमति तोड्नु र संविधानलाई कार्यान्वयनमा जान नदिनु छिमेकी देश भारतको मुख्य उद्धेश्य थियो । त्यसका लागि उसले मधेसकेन्द्रित दललाई प्रयोग गरेको थियो भने संविधान जारी गरेपछि उक्त कित्तामा कांग्रेस पनि पुगेको थियो । अहिले आफ्नो नेतृत्वले संविधान दिएको भन्दै मतदाताबीच भोट माग्न पुगेको कांग्रेसको त्यसबेलाको भूमिका राष्ट्रिय हित र एजेण्डा विपरित थियो । सुशील कोइराला प्रधानमन्त्रीबाट राजीनामा दिंदै फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्नु र संविधानको विरुद्ध भारतीय नाकामा धर्ना बसेका मधेसी दलका नेताहरु उनलाई भोट हाल्न आउनुले कांग्रेस संविधान जारी गर्ने पक्षमा थिएन भन्ने त्यसबेलै आशंका गरिएको थियो । त्यसैले अहिले कांग्रेसकै नेतृत्वमा संविधान बन्यो भन्ने नारालाई मतदाताले पत्याएनन् ।
नाकाबन्दीको समर्थक र विकास विरोधी चरित्र
संविधान विरुद्ध भारतले नाकाबन्दी लगाइरहेका बेला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका थिए । संविधान जारी गरेपछि ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको कांग्रेस संविधान विरोधी भारतीय कित्तामा पुगिसकेको थियो र नाकाबन्दीलाई अझ प्रवद्र्धन गरेपछि ओली सरकार ढाल्न सकिन्छ भन्ने कांग्रेसको विश्वास थियो । तर, भारतले नेपाल विरुद्ध खुलेआम अपराध गर्दा त्यसको समर्थनमा देखिएको कांग्रेस ओलीले राष्ट्रिय स्वाभीमानमा अडिक भएर नाकाबन्दी पराजित गर्दा ओली विरुद्ध झन् जाइलाग्न पुग्यो । ओलीले कठीन समयमा राष्ट्रिय शीर झुक्न दिएनन् र भारतीय नाकाबन्दी खुलाएर भारत तर्फबाट विशाखापटनमको थप नाका समेत प्रयोग गर्न पाउनेगरी सम्झौता गरे । अझ नेपाल–चीन ऐतिहासिक पारवहन सम्झौता गरी भूराजनीतिमा नेपालको हैसियतलाई माथि पुर्याए । नेपाललाई चिनियाँ रेल, सडक र विद्युत सञ्जालले जोड्ने सम्झौता ओलीले गरेपछि कांग्रेस र भारत मिलेर ओली सरकार ढाल्ने योजना बुन्न थाले । ओलीको सरकार ढाल्न कांग्रेस र भारतले माओवादीलाई प्रयोग गर्यो । राष्ट्रिय हितलाई कमजोर बनाउन र विश्व वजारसँग नेपालको कनेक्टिभिटी बढाउन ओलीले थालेको कामलाई अवरोध गर्न कांग्रेस अग्रसर भएपछि देश भित्रको जनमत कांग्रेस विरुद्ध झन् बलियोसँग उभिन पुग्यो । नेपालको हितमा हुने चीनसँगको पारवहन, चिनियाँ रेल जस्ता सम्झौताहरुलाई कार्यान्वयन हुन नदिने तर, नेपालको विशुद्ध आन्तरिक मामिलाको रुपमा रहेको संविधान संशोधन गर्न बारम्बार भारतसँग वाचा गर्ने कांग्रेसलाई पराजित नगरेसम्म देश माथि उठ्न नसक्ने निश्कर्षमा मतदाता कसिंदै गए । अझ कांग्रेसले देश हितका यस्ता योजनाहरुलाई हावा गफका रुपमा प्रचार गर्न प्रधानमन्त्री निवास वालुवाटारमा कागजका रेल बनाएर प्रदर्शन समेत गर्यो । यसलाई नागरिकहरुले रुचाएका थिएनन् ।
सरकारमा बसेर हिंसाको प्रवद्र्धन
कांग्रेसको देखावटी अनुहार पुरानो प्रजातान्त्रिक पार्टी थियो । तर, उसले निषेधको अतिवादी हिंसात्मक राजनीतिलाई नेपथ्यबाट सघाइरहेको थियो । प्रतिपक्षमा रहेको एमालेले मेची महाकाली अभियान चलाएका बेला राजपाको आवरणमा एमालेका सभाहरुमाथि जस्ता खालका हिंसात्मक हमलाहरु भए त्यसको प्रवद्र्धक कांग्रेस थियो । गृहमन्त्री रहेका विमलेन्द्र निधि राजपा नेताकै शैलीमा गाउँगाउँबाट एमालेलाई लखेट्न र मधेसलाई एमालेमुक्त बनाउन सार्वजनिक आव्हान गर्थे र हिंसामा सहभागिहरुलाई भित्रभित्रै सघाउँथे । निधिले मलजल गरेर एमाले विरुद्ध प्रयोग गरेको अतिवादको प्रतिफल उनी अहिले आफैं भोग्दैछन् । कांग्रेसको देखावटी अनुहार संविधान जारी गर्ने दलको रुपमा थियो तर, उ संविधान विरोधी मोर्चाको प्रमुख खेलाडी थियो । कांग्रेसको नामलाई प्रजातन्त्रको मानकका रुपमा चित्रण गरिन्थ्यो तर, कांग्रेस सत्तामा बसेर प्रतिपक्षलाई सभा गर्न निषेध गर्ने र त्यसका लागि हिंसात्मक समुह परिचालन गर्ने सामाजिक फासिवादी बाटोमा थियो । राजनीतिलाई यसरी अधिनायकवादको अभ्यासमा लिएर गएपछि कांग्रेस जनताको नजरबाट गिरेको थियो ।
देउवा सरकारको अधिनायकवादी चरित्र
लोकतन्त्रका आधारभूत मान्यताले त कांग्रेसलाई कहिल्यै छोएन । उसले राज्यका संवैधािनक अंगहरुलाई सरकारको छायाँ बनाउने काम गरेको थियो । लोकमानसिंह कार्कीको महाभियोग विरुद्ध उत्रिएको कांग्रेस र सरकार अनुकुल फैसला नगरेको भनी प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग ल्याएको कांग्रेसलाई लोकतन्त्रको पक्षमा छ भन्ने आधार समाप्त हुँदै गएको थियो । नागरिकलाई चुनावका बेला मतदाताको रुपमा मात्रै उपयोग गर्ने र अरुबेला सत्ताको चरम दुरुपयोग गरेर पैसा संकलन गर्ने कांग्रेसको पुरानै चरित्र हो । त्यसमाथि उसले निर्वाचनलाई भोट ल्याउने एउटा विधिका रुपमा मात्रै स्वीकार गर्यो । चुनावमा पैसा परिचालन गरेपछि अर्काे चुनावसम्म पैसा जम्मा गर्न सकिने र फेरि पैसाले अर्काे चुनाव जित्ने कांग्रेसी लोकतन्त्रको अभ्यास रहंदै आयो । अहिलेको आधुनिक चेतनासँग मेलन नखाने कांग्रेसको यो ब्यवहार उसको पराजयको मुख्य कारण हो ।
नागरिकलाई मतदाता मात्रै ठान्नु
कांग्रेसले माओवादीलाई आफूसँग राखेपछि मुलुकमा राम्रो काम गर्ने शक्तिलाई कमजोर बनाइराख्न सकिन्छ र आफ्नो सत्ता टिकाउन सकिन्छ भन्ने सोच्यो । तर, ओली नेतृत्वको एमालेको लोकप्रियता बढिरहेको थियो । त्यस्तो बेला कांग्रेससँग टाँस्सिइरहनु राजनीतिक नोक्सानी हुने माओवादीले ठान्यो । एमाले लोकप्रिय भए पनि चुनावमा प्रशासन, पैसा र घेराबन्दीबाट हराउन सकिने विश्वासमा बसेको कांग्रेसलाई वाम गठबन्धन बन्नु ठूलो झड्का बन्न पुग्यो । अनि उसले आफूसँग सहकार्य गरेको माओवादी एमालेसँग मिल्नु अधिनायकवाद हो भन्ने प्रचार गर्न पुग्यो, जुन मतदाताले पत्याएनन् । अहिले मंसिरमा भएको चुनावका मुखमा कांग्रेसले बाढी पीडितका नाममा अर्वाैं रुपैयाँ बाड्यो । साउनमा बाढीको चपेटामा परेका जनताले मंसिरमा पैसा बाँडेको थाहा पाएपछि त्यो आफ्ना लागि नभएर कांग्रेस नेताहरुको भोटका लागि भएको बुझे । अझ निर्वाचन आचार संहिता मिचेर राज्यकोष र प्रशासनको दुरुपयोग त कांग्रेसले कति गर्यो, निर्वाचन आयोग समेत अवाक बन्ने अवस्था आयो । कांग्रेसले गरेका उपरोक्त सवै काम जनता विरुद्धका अपराध थिए, त्यसैले अहिले कांग्रेसले त्यसको सजाय पाएको मात्रै हो । चुनावमा पराजयको कारणका रुपमा कांग्रेस नेताहरुले अहिले भनेका कुरा त तपशीलका कुरा मात्रै हुन्, कमजोरी लुकाउने प्रयास मात्रै हुन् ।
चक्रपथ डट कम बाट साभार
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
२३ मंसिर २०७४, शनिबार ०७:२० प्रकाशित