स्थापना दिवसमा नेवि संघको क्यालेण्डर विमोचन
  • काँचुली खबर

नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाइ समितिले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेवि संघको ४९ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर सार्वजनिक गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु चौधरीले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यार्थीहरुले नेपालको शैक्षिक विकासमा सकरात्मक सोचको विकास गर्न आवश्यक रहेको बताईन् । साथै उनले बागेश्वरी बहुमुखी क्याम्पसको गुणस्तरीय शिक्षाका लागि स्थानिय सरकार सहकार्य गर्न तयार रहेको भन्दै क्याम्पसको शैक्षिक विकासका लागि सबै विद्यार्थी संगठनहरुले सहकार्य गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले वर्तमान सरकारले विद्यार्थीहरुको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संरक्षण गर्न नसकेको टिप्पणी गरे । विद्यार्थीहरुको साझा संगठन स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन तत्काल गराउनुपर्ने माग गर्दै आचार्यले नेविसंघ शान्तिपूर्ण वातावरणमा निर्वाचनमा सहभागी हुन आतुर रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुँदै गर्दा क्याम्पसका चुनौति र अवसर दुवै आईरहेको भन्दै क्याम्पसको विकास र गुणस्तरीय शिक्षाकालागि क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरुसँग हातेमालो गर्न तयार रहेको बताए ।

नेविसंघका नेता यज्ञ बहादुर महराले नेपालका तानाशाहका विरुद्ध संघर्ष गर्नका लागि नेविसंघको जन्म भएको भन्दै नेपाली जनताका अधिकार खोस्ने अधिकार कसैलाई नरहेको बताए । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति टेकेन्द्र महताराले क्याम्पसमा नेविसंघले रचनात्मक कार्यहरु गर्दै जानुपर्ने भन्दै विद्यार्थीहरुका हक र अधिकारका लागि सधै लड्नुपर्ने बताए ।
युवा विद्यार्थी नेता कमल शाही र डिल्ली रावलले नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसको शैक्षिक विकास र रुपान्तरणकालागि सबैसँग सहकार्य गर्न तयार रहेको बताउँदै क्याम्पसमा तत्काल स्ववियू निर्वाचन गराउन माग गरे ।

कार्यक्रमका सभापती तथा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति राम प्रसाद पाण्डेले नेविसंघले नेपालको राजनीतिक परिवर्तनमा धेरै बलिदान गरेको स्मरण गराउँदै बागेश्वरी क्याम्पसको गरिमालाई उच्च बनाउन नेविसंघ तयार रहेको बताए । नेविसंघले विद्यार्थी राजनितिका अलावा सृजनात्मक गतिविधिहरुबाट विद्यार्थीहरुमा सकरात्मक सोचको विकास गराउँदै आएको दावी समेत गरे ।

  • ६ बैशाख २०७६, शुक्रबार १४:२० प्रकाशित
  • Nabintech